मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गोपालमान श्रेष्ठ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति 
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०७:३५:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो : गोपालमान श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०७:३५:००

अन्तर्वार्ता

पार्टीभित्रैको अन्तर्घातका कारण कतिपय नेताले हार व्यहोर्नुपर्‍यो भन्ने आवाज कांग्रेसमा उठेको छ, यो कत्तिको सत्य हो ? 
निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनेको छ । तर, पहिलो पार्टी बन्दा जति सिट फरक हुनुपर्थ्यो त्यो हुन सकेन । पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ, जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । आफ्नै साथीहरूको असहयोगले गुमायौँ ।

सरकार बनाउन पनि अब गठबन्धनबाहिरबाट तानतुन पार्नुपर्ने अवस्था बन्यो । कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ ।

के कारणले भयो अन्तर्घात ?
०७४ मा उजुरी आएकोमा पार्टीले १४औँ महाधिवेशनअघि सबैलाई माफी दियो । कसैलाई पनि कारबाही गरेन । फलस्वरूप पार्टीमा अनुशासनको महत्व रहेन । अन्तर्घात गरेका कतिपय त पुरस्कृत हुने अवस्था पनि आयो । अन्यथा कम्तीमा पनि ७० सिट हामीले जित्ने अवस्था थियो । उम्मेदवार नहुँदा समानुपातिकमा पनि भोट घटेको छ । आफ्नो समूहको नभएको र टिकट नपाएका असन्तुष्टले यस्तो गरेको देखिन्छ । 

कांग्रेसको भोट घट्नुलाई अन्तर्घात मात्रैलाई मान्न सकिन्छ ? 
सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो । अन्तिम समयमा आएर नयाँ पार्टी पनि मैदानमा आए । किन हारियो भन्दा ‘हाम्रै साथीहरू घाम ताप्न गए’ भन्ने जवाफ पनि आएका छन् । निर्वाचन परिणाम सँगसँगै साथीहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । निर्वाचन समितिले सातै प्रदेशबाट रिपोर्ट मगाएको छ । प्रदेश १ मा हामीलाई धेरै घाटा देखिएको छ । धेरै साथीले हार्नुभयो ।

प्रदेश सभामा पनि हामीले जितिरहेका स्थानमा हार व्यहोर्नुपर्‍यो । हामीले जित्दै आएको सुनसरीका तीनमध्ये दुई स्थान हारिसकेका छौँ । रूपन्देहीमा पनि त्यस्तै भयो । यस्तै–यस्तै ठाउँको प्रारम्भिक मूल्यांकन गरेका छौँ । कारण ०७४ को संकटमा एक्लै जितेका क्षेत्र पनि अहिले आन्तरिक कारणले हारेका छौँ । तीन भोटदेखि हारेको अवस्था पनि छ । हारेकाले पनि हाम्रै साथीका कारण हार व्यहोर्नुपर्‍यो भन्नुभएको छ, कतिपयले तथ्य पनि दिनुभएको छ । 

अन्तर्घातमा संलग्नहरूलाई पार्टीले कारबाहीको दायरामा ल्याउँछ कि अघिल्लोपटक जस्तै माफी दिन्छ ?
जिल्लामा यसबारे अध्ययन भइरहेका छन् । प्रतिवेदन मगाएका छौँ । आएपछि अनुशासन समितिमार्फत कारबाही गर्छौँ । कारबाही हुन्छ ।