नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरे। निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे।
‘खुलेआम कुनै पनि वेला गर्न नमिल्ने संस्थाहरूको प्रयोग गरेर एमालेले दुरुपयोग गरेको जगजाहेर छ। निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरूलाई दुरुपयोग गर्ने जुन प्रवृत्ति छ, त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस् र कारबाही गरोस्,’ उनले भने।
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने प्रवक्ता महतको दाबी छ। मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए।