प्रत्यक्षतर्फको तीन लाख ३२ हजार मतपत्र आइपुग्यो

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको छ । निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । 

उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा तीन लाख ३२ हजार थान मतपत्र आइपुगेको छ । मतपत्रलाई आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन क्षेत्रअनुसार भण्डारणसमेत गरिएको छ ।

मकवानपुर १ का निर्वाचन अधिकृतसमेत रहेका निरौलाले क्षेत्र नम्बर १ मा एक लाख ६६ हजार मतपत्र आइपुगेको जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख पचास हजार एक सय ५५ जना मतदाता छन् । 

अधिकृत निरौलाले निर्वाचन क्षेत्र नम्बर १ को (क) का लागि ८६ हजार र (ख) का लागि ८० हजार मतपत्र विभाजन गरी तयारी अवस्थामा राखिएको पनि जानकारी दिए । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ७७ हजार नाै सय ८९ र प्रदेश सभा (ख) मा ७२ हजार एक सय ६६ मतदाता छन् ।

मकवानपुर २ मा एक लाख ६० हजार पाँच सय ७८ मतदाताका लागि एक लाख ६६ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा ८३ हजार ९९ जना र प्रदेश सभा (ख) मा ७७ हजार चार सय ७९ मतदाता छन् । 

गत आइतबार नै आइपुगेको मतपत्र रुजु गरेर निर्वाचन क्षेत्रअनुसार विभाजन गरी प्रहरीको निगरानीमा भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । 

यसअघि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र ३० असोजमै आइसकेको छ । समानुपातिकका लागि मकवानपुर १ मा प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार थान मतपत्र ल्याइसकिएको मुख्य निर्वाचन अधिृकत निरौलाले जानकारी दिए । 

यसैगरी, २ नम्बर क्षेत्रको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६९ हजार प्रति मतपत्र आइपुगेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकारी दिए । 

कुल तीन लाख सात ३७ जना मतदाता रहेको मकवानपुरमा तीन सय ६४ वटा मतदान केन्द्र तोकिएका छन् । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ ६७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सुझावित समाचार