काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
ठुलो दुर्घटना सिन्धुलीमा भयो । सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानस्थित सडकमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को. १ ज २९७६ नम्बरको सुमो गाडी अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा सुमोमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भयो। मृत्यु हुनेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ५, बस्ने २१ वर्षीया युपना राईसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक र सुमोमा सवार एकजनाको जिल्ला अस्पताल सिन्धुली र सुमोमा सवार अन्य दुईजनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवा नगरपालिका– ४, बसचोकस्थित सडकमा लु.२ ख ६९१२ नम्बरको ट्रकले को. २५ प २७४९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९, बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको कटारी नगरपालिका– ५, भोर्लेस्थित सडकमा प्र.१–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा. ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एक–आपसमा ठक्कर खाई दुर्घटना शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका– १७, तेतरिया पुलस्थित सडकमा ज.११ प ३०५८ नम्बरको मोरटसाइकल र म. प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा ज.११ प ३०५८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका– १७ बस्ने १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.११ प ३०५८ नम्बरको मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा र म. प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकलमा सवार दुईजनाको न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोरङको सुनबर्सी नगरपालिका– ५, झुंगी टोलस्थित सडकमा बिआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४५ प. ८९६६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बिआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका– ९, डाइनिया बस्ने ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बिआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकलमा सवार एकजनाको प्राइम अस्पताल विराटनगरमा र प्र.१–०२–०४५ प. ८९६६ नम्बरको मोटरसाइकलचालकको नोबल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै, रौतहटको मौलापुर नगरपालिका– २, मर्यादपुरस्थित सडकमा बा.३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका– २ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजलक्ष्मी प्रालि अस्पतालमा कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकल सवार अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता, रोल्पा, माडी गाउँपालिका– १, चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको लु. प्र. ०२–००१ ह १९४७ नम्बरको अटो आइतबार बिहान दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका– १, घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्मृति अस्पताल घर्तीगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अटोमा सवार एकजनाको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, नवलपरास (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका– ६, माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित सातजना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग. प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको नहरमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी कावासोती नगरपालिका– १, हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
दुर्घटनामा घाइते भएका कावासोती– १ हात्तीखोरका २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ। अन्य दुईजना सामान्य घाइतेको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अटोचालक कावासोती– १, हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।