नेकपा (माओवादी केन्द्र) की नेतृ तथा प्रतिनिधिसभाका लागि काठमाडौं– २ का उम्मेदवार ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छिन्।
वाम–लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ घर्तीले यस्तो बताएकी हुन्।
पूर्वसभामुखसमेत भइसकेकी घर्तीले महिला विभिन्न आन्दोलन र लडाइँका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरे पनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरिन्।
निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढीभन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्।
प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताउँदै घर्तीले आगामी ५ वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने दाबी गरिन्।
‘महिलाहरूको प्रतिनिधित्व, महिलाहरूको पहुँच र महिलाहरूलाई प्रेरणा दिनको लागि मेरो उम्मेदवारी हो। हामीले विभिन्न जनआन्दोलनमा वा विभिन्न प्रकारका लडाइँका मोर्चाहरूमा हामीले आफूलाई अग्रपंक्तिमा राखेका छौँ,' उनले भनिन्, 'जब आन्दोलन हुन्छ तब महिलाहरू अघि खटेर लडेका छन्। तर, आन्दोलन जब एउटा ठाउँ र बिन्दुमा पुगेर सकिन्छ तब महिलाहरू कहाँ गए भनेर खोज्नुपर्ने अवस्था छ। ५ वर्षपछि अब कुनै पनि स्तरमा ओनसरीले उम्मेदवार हुनुपर्दैन, ५ वर्षपछि महिलाहरू हरेक पुरुष मित्रहरूसँग निर्वाचनका लागि प्रतिस्पर्धा गर्न योग्य हुनुहुनेछ, यो मलाई विश्वास छ।’