बसको टिकट नपाएपछि कालिकोटमा यात्रुहरू अलपत्र

शुक्रबार, १४ असोज, २०७९
डिजिटल संस्करण
बसको टिकट नपाएपछि कालिकोटमा यात्रुहरू अलपत्र

बसको टिकट नपाएपछि जितेगाडमा अलपत्र यात्रु । तस्बिर : समीक्षा शाही

घर फर्किने बसकाे टिकट नपाएपछि कर्णाली करिडोरअन्तर्गत कालिकोटको जितेगाडमा दर्जनाैँ यात्रु अलपत्र परेका छन्। दसैँ मनाउन घर आएका सयौँ नागरिक हुम्ला आउने गाडी नपाएर जितेगाडमा अलपत्र परेका हुन्।

काउन्टरबाट आफ्ना चिनजानका मान्छेलाई मात्रै टिकट दिँदा आफूहरूले टिकट नपाएको यात्रुहरूको गुनासो छ। पहुँच नभएकाहरूले टिकट पाउनै सकस भएको र होटेलमा बस्न पनि गाह्रो भएको सर्केगाड गाउँपालिका–  ५ का अनिल शाहीले बताए।

महँगो मूल्य तिरेर पनि गाडीको टिकट पाउन समस्या भएको सोही स्थानका अमृत शाहीको दुःखेसो छ। उनले भने, ‘सयौँ संख्यामा हुम्ला पुग्नुपर्ने यात्रुहरू बसकाे टिकट नपाएर अलपत्र परेका छन्।’ सुर्खेतदेखि हुम्लाको सल्लिसल्लासम्म पुग्न यहाँका नागरिकलाई पाँचवटा बस फेर्नुपर्ने बाध्यता छ।

दसैँ मनाउन जहाजको टिकट नपाएपछि हुम्लाका अधिकांश नागरिक सुर्खेत, नेपालगन्जलगायतका स्थानबाट बस चढेर कालिकोटको जितेगडा पुगेका छन्। तर, यहाँबाट भने बसकाे टिकट नपाउँदा दसैँ पनि बीचबाटोमा नै सकिन्छ भन्ने चिन्ताले उनीहरूलाई पिरोल्न थालेको छ।

सुझावित समाचार