डेंगुलाई प्रकोप घोषणा गर्न आग्रह

उपत्यकामा मात्रै १० हजार नौ सय ४८ संक्रमित, २४ को मृत्यु

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुलाई प्रकोप घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । प्रकोपका रूपमा घोषणापछि डेंगु नियन्त्रणमा बहुसहकार्य हुने भएको भन्दै महाशाखाले यस्तो आग्रह गरेको हो । हाल देशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

उपत्यकामा तीव्र संक्रमण देखिन थालेपछि यसबारे थप सजग हुन र नियन्त्रणमा जुट्न यस्तो माग गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार देशभर डेंगु संक्रमण अनपेक्षित ढंगले बढिरहेको छ । डेंगु नियन्त्रणका लागि सबै पक्षलाई आह्वान गर्न पनि महामारी वा प्रकोप घोषणा गर्नुपर्ने महाशाखाको भनाइ छ । ‘डेंगु सोचेभन्दा तीव्र रूपमा फैलिएको छ, यसको रोकथामका लागि सबै निकाय एकजुट हुनुपर्छ,’ दासले भने, ‘त्यसका लागि हामीले स्वास्थ्य मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराएका छौँ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु संक्रमण तीव्र फैलिएकाले रोकथामका लागि सबै लागिपर्न आवश्यक रहेको बताए । उनले यस सम्बन्धमा नेतृत्वकारी भूमिका खेल्न मातहतका अस्पताल र स्वास्थ्य कार्यालयलाई मन्त्रालयले निर्देशन दिइसकेको उल्लेख गरे । ‘डेंगु प्रकोपजस्तै फैलिएको छ । डेंगु सरुवा रोग भएकाले प्रकोप घोषणा गर्दा नियन्त्रणमा सहज हुने इडिसिडीले जनाएको छ । देशभर डेंगु संक्रमितको संख्या १९ हजार २३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मंगलबारसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २४ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका  निर्देशक डा. चुमनलाल दास भन्छन् ,‘डेंगु सोचेभन्दा तीव्र रूपमा फैलिएको छ, यसको रोकथामका लागि सबै निकाय एकजुट हुनुपर्छ । नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराएका छौँ ।’

 सबैभन्दा बढी संक्रमित काठमाडौँमा
हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा पाँच हजार एक सय ३१ जनामा डेंगु संक्रमण भइसकेको छ भने ललितपुरमा संक्रमितको संख्या पाँच हजार एक सय चार पुगेको छ । यस्तै, भक्तपुरमा सात सय १३ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । मकवानुपरमा एक हजार आठ सय २९, दाङमा एक हजार एक सय ८०, रुपन्देहीमा ६ सय ७९ मा डेंगु देखिएको छ । महाशाखाका अनुसार मुस्ताङ र हुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ । बागमती प्रदेशमा १४ हजार एक सय ५३, लुम्बिनीमा दुई हजार ६ सय ८३, प्रदेश १ मा पाँच सय ७९, मधेस प्रदेशमा दुई सय ९४, गण्डकीमा चार सय ५०, सुदूरपश्चिममा ६ सय ५६ र कर्णालीमा दुई सय आठजना डेंगु संक्रमित भेटिएका छन् ।

महाशाखाका अनुसार पछिल्लो डेढ महिनायता डेंगुबाट २४ जनाको मृत्यु भएको छ । त्यसमध्ये निसर्ग अस्पताल कैलालीमा ३५ महिला, कान्तिमा तीन वर्षीय बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष र ६३ वर्षीय महिला, चितवन मेडिकल कलेजमा ३३ वर्षीय  पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ वर्षीया महिला, ३५ वर्षीय पुरुष, नर्भीक अस्पतालमा ३७ वर्षीया महिला, शुभेच्छा इन्टरनेसनल हस्पिटल काठमाडौंमा १२ वर्षीय पुरुष, ओम अस्पतालमा २३ वर्षीय महिलालगायतको मृत्यु भएको छ ।

See More On

सुझावित समाचार