जबराको आरोपप्रति पूर्वन्यायाधीश फोरमको आपत्ति

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

प्रधानन्यायाधीशउपरको महाभियोग फौजदारी अभियोग आगामी संसद्ले दायित्व लिन आग्रह 

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीशहरूमाथि लगाएको आरोपप्रति खेद प्रकट गरेको छ । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले पूर्वन्यायाधीश तथा प्रधानन्यायाधीशहरूले ‘विभिन्न कोणबाट’ अदालतमा हस्तक्षेप गर्ने गरेको आरोप लगाएका थिए । संविधानको संरक्षक भन्दै भाग खोज्ने गरेको उनको भनाइ थियो । जबराले पूर्वन्यायाधीश फोरमलाई ‘मन्डले समाज’ भन्दै पहिलेका राजावादीहरूको फोरम रहेको बताएका थिए । 

फोरमले बुधबार विज्ञप्ति जारी गर्दै निलम्बित प्रधानन्यायाधीशसँग कुनै किसिमको भागबन्डा, सहुलियत वा सुविधा लिएको तथ्य पुष्टि गर्न चुनौतीसमेत दिएको छ । साथै, जबराको भनाइ अमर्यादित रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । उनीमाथिको आरोप छानबिन गम्भीरतापूर्वक हुनुपर्ने र आगामी संसद्ले पनि त्यसको दायित्व लिनुपर्ने समाजको धारणा छ ।

‘कार्यकाल सकिए महाभियोगको के हुने विषयमा संविधान साइलेन्ट छ, तर यसको अर्थ अगाडि बढाउन रोक लगाएको भन्ने होइन । यो गम्भीर फौजदारी किसिमको अभियोग हो । जुन ४३ वटा अभियोग छन् तिनको निराकरण हुनैपर्छ,’ फोरमका अध्यक्ष टोपबहादुर सिंहले भने । उनले अमेरिकालगायत देशमा पनि यस्तै प्रचलन रहेको बताए ।  पूर्वन्यायाधीश पवनकुमार ओझाले संसद्ले सतही रूपमा छानबिन गर्न नहुने बताए । आरोप गम्भीर भएपछि त्यसलाई मिहीन रूपमै अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले समितिले सबुत संकलन गरिरहेको छैन । ठूला ओहोदामा रहेकाहरूले गम्भीर अपराध गरेपछि महाभियोग लगाइने हो,’ उनले भने, ‘हल्का ढंगले ट्रायल गरेको देखिन्छ । ठेक्कापट्टाको फाइल झिकाउनुपर्ने होला । बयानमा मेरो यति जग्गा छ भन्नुभएको छ, त्यसको कागजात मगाउने होला । निर्वाचन आचारसंहिता लागू हुने कुरा भइरहँदा यो यति कम समयमा सम्भव छैन । तसर्थ आउने संसदले यसको दायित्व लिनुपर्छ ।’

महाभियोग निस्तेज हुने भएमा बात लागेको मान्छेजसरी आरोपित भइरहने भएकाले अभियोगकर्ता अर्थात् सांसदहरू र आरोपित प्रधानन्यायाधीशको हितका लागि भए पनि आगामी संसद्ले अनुसन्धानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । नयाँ सांसद आए पनि उही अधिकार भएको संसद् रहने उनी तर्क गर्छन् ।

‘निर्वाचनको अवधिले मात्र अर्को संसद् हुने हो । नत्र संस्था उही हो । संसद्ले ६ महिना त्यतिकै राखिदियो । अहिले हतारमा गर्दा यो परिस्थिति आएको हो,’ उनले भने । दुई–तीन महिनामा अर्को संसद् सुचारु हुने भएकाले त्यस संसद्ले महाभियोगको स्वामित्व ग्रहण गरी अन्तिम निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ । ‘पदावधि सकिए पनि संसद्को अल्टिमेट रेस्पोन्सिबिलिटी छ । यसलाई सामान्य क्रिमिनल केसजस्तो लिनुहुँदैन । आउने संसदले इन्साफ गरोस्,’ उनले भने ।

सुझावित समाचार