कुमारीघरबाट सुरु भएको रथयात्रा प्याफल, यट्खा, नरदेवी, किलाघः, भेडासिङ, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघरमै आएर पूरा
हनुमानढोका दरबार क्षेत्रमा भेटिएकी कविता महर्जनले यस वर्ष पहिलोपटक इन्द्रजात्राको रथ तान्ने अवसर पाइन् । नरदेवीकी महर्जनले पहिलोपटक रथ तान्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘नरदेवीमै बस्ने भएर पनि पहिलोपटक रथ तानेकी हुँ,’ उनले भनिन्, ‘पहिला–पहिला पनि आउन मन लाग्थ्यो । तर, साथी नभएकाले आइन् । यसपटक टोलकै हिराशोभा म्यामले जाऊँ भन्नुभयो । संस्कृति जोगाउने काममा योगदान गर्न पाएकोमा आनन्द लागेको छ ।’
कविताले पहिलोपटक रथ ताने पनि ज्ञानशोभा महर्जनले भने सुरुवाती दिनदेखि नै रथ तान्दै आएकी छिन् । सुरुवाती दिनलाई सम्झदै उनले भनिन्, ‘सुरुमा रथ तान्दा केटाहरूले खुवै अवरोध गरे । उनीहरूसँग झगडा नै गरेर रथ तान्न सुरु गर्याैँ ।’
सुरुवाती दिनमा महिलालाई रथ तान्न केटाहरूले मात्र अवरोध गरेका थिएनन् घरसमाज सबैतिरको अवरोध थियो । रथ तान्न केटीहरूले सक्दैनन् भन्ने थियो । ०७२ सालमा महिलालाई रथ तान्न नदिनेसमेत भनियो । तर, एकपटक छोड्यो भने छोडेकोछोड्यै हुन्छ भनेर नछाडेको ज्ञानशोभाले बताइन् । जसकारण अहिलेसम्म उनीहरूले रथ तान्न पाएका छन् । ‘त्यस्तो हुलमा कसरी जान्छौँ । नजाऊ भनेर घरमा गाली गरे । डर हुँदैन, यसरी तान्ने हो भनेर तान्ने ठाउँमै लगेर श्रीमान्लाई देखाएँ । त्यसपछि श्रीमाने ठीकै छ भन्नुभयो,’ उनले भनिन्, ‘अहिले त निकै रमाइलो लाग्छ । नयाँ–नयाँ साथी भेटिन्छ । हामी त सार्वजनिक मान्छेजस्तो भइसक्यौँ । हामीले अरूलाई चिन्दैनौँ । तर, हामीलाई चिन्ने धेरै भइसके । बाहिर निस्किँदा पनि रथ तान्दा देखेको भनेर मुसुक्क हाँस्छन् ।’ रथ तान्न चाहने धेरै भएपछि अहिले वर्ष बिराएर मात्र तान्न दिने नियम छ ।
ओमबहालबाट आएकी सजनी महर्जन पनि सुरुवातबाटै रथ तान्ने समूहमा छिन् । उनको कथा पनि ज्ञानशोभाको भन्दा फरक छैन । इन्द्रजात्रामा पुरुषले रथ तान्ने महिलाले हेर्ने मात्र हो भन्ने मान्यता थियो । यो मान्यताविपरीत रथ तान्न सुरु भएको रथयात्रा अहिले निकै सहज र सुरक्षित रहेको उनी बताउँछिन् । ‘पहिला केटीहरूले रथ तान्ने होइन । हेर्ने मात्र हो भन्ने थियो । केटीहरू किन जान्ने हुनुपरेको भन्ने थियो । तर, अहिले त्यस्तो छैन । केटीले पनि रथ तान्न सक्छन् भन्ने छ ।’
अहिले केटाहरूमा समेत महिलाले तान्दा धेरै सुरक्षित हुन्छ भन्ने भएको छ । केटाहरूले तान्दा जो आयो त्यसैले तान्नेजस्तो हुन्छ । तर, महिलाले तान्दा निकै अनुशासित हुने गरेको छ । उनले भनिन्, ‘हामी टिसर्ट लगाएर आउनेबाहेक अरूलाई तान्न दिँदैनौँ ।’ उनका अनुसार संस्कृति संरक्षणमा पुरुषको जति महिलाको पनि भूमिका हुन्छ भनेर यसले स्थापित गरेको छ ।
महर्जन समुदायबाट रथ तान्न सुरु
इन्द्रजात्राको अन्तिम दिन बुधबार पाँच सय महिलाले वसन्तपुरमा रथ तानेका छन् । कुमारी, गणेश र भैरव गरेर तीनवटा रथ पाँच सय महिलाले तानेका हुन् । २० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरका महिलाहरू रथयात्रामा सहभागी थिए ।
कुमारीघरबाट सुरु भएको रथयात्रा प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासिङ, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघरमै आएर पूरा भएको थियो । सुरुमा हनुमानढोका क्षेत्रका महर्जन समुदायका महिला मात्रै सहभागी हुने रथयात्रामा अहिले विभिन्न समुदायका महिला सहभागिता हुने गरेको सजनी महर्जनले बताइन् । ‘सुरुमा सबैलाई थाहा नभएर होला अन्य समुदायका महिला आउनुभएन । रथ तान्न महर्जन समुदायको महिला समूहबाटै तीन, पाँच, दश हुँदै महिलाहरू आउनुभएको थियो । पछि महर्जन समुदायबाहेक अरूको भगवान् होइन भन्ने भयो । त्यसैले अहिले जो–जो पहिला आउनुहुन्छ उहाँहरूलाई तान्न दिएका छौँ,’ महर्जनले भनिन् ।
०६९ साल देखि इन्द्रजात्राको अन्तिम दिन नानीचायाः (नेवारी भाषामा नानी अथवा महिलाले रथ तान्ने) हुन थालेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. मोहनकृष्ण डंगोलले महिलाले पनि रथ तान्ने प्रस्ताव अगाडि बढाएका थिए । सोहीअनुसार नानीहिरा महर्जन, सजनी महर्जन, ज्ञानशोभा महर्जनलगायतको १३ समूह बनेको थियो । यी महिलाको समूहले योपटकसहित गरेर १०औँ पटक रथ तानेका छन् ।