बाजुराको बुढीनन्दा नगरपालिका– १ स्थित बाधु माध्यमिक विद्यालयका विद्यार्थी हरेक दिन चौरमा पढिरहेका भेटिन्छन् । हिमाली जिल्ला बाजुरामा अत्यधिक गर्मीले विद्यालयमा छाएको जस्तापाता तातिएर उकुसमुकुस हुन थालेपछि खुला चौरमा पढ्न विवश छन् ।
कक्षा ३ मा अध्ययनरत पूजा बम कक्षाकोठामा गर्मीले पढ्न नसकिने भएपछि पीपलबोटमुनि पढ्ने गरेको बताउँछिन् । ‘कक्षाकोठामा डेस्क–बेन्च नभएको होइन, तर दिउँसो अत्यधिक गर्मी हुन्छ । सर–मिसहरूले बाहिर पढाउनुहुन्छ,’ उनले भनिन् ।
कक्षाकोठामा गर्मीले पढ्न नसकिने भएपछि खुला चौरमा बसेर पढ्दै आएको कक्षा १० मा अध्ययनरत विनिशा जोशीले बताइन् । ‘कक्षाकोठामा गर्मी धेरै हुने भएकाले चौरको खुला स्थानमा शीतल खोज्दै सरहरूले पढाउनुहुन्छ,’ उनले भनिन् । घाम नचर्किंदै पहिला कक्षाकोठामा पढ्ने गरे पनि दिउँसोतिर गर्मीले भित्र बस्न नसक्दा चौरको छेउमा पढ्दै आएको जोशीले बताइन् ।
बिहान कक्षाकोठामै पढाउने गरे पनि दिउँसो गर्मीले कठिन भएकाले बाहिर खुला चौरमा राखेर पढाउँदै आएको बाधु माध्यमिक विद्यालयका प्रधानाध्यापक नैनबहादुर कार्की बताउँछन् । ‘पीपलको बोटमुनि शीतल हुन्छ, यतै पढाउने गरेका छौँ,’ उनले भने, ‘कक्षा १० मा ७४ जना विद्याथीं छन् । कक्षाकोठा साँघुरो छ । त्यसमाथि दिउँसो जस्तापाता तातेर विद्यार्थीहरू निसास्सिएर बेहोस हुन थालेपछि बाहिर ल्याएर पढाउने गरेका हौँ ।’ विद्यालयमा तीन सय ९६ जना विद्यार्थी छन् ।