यी हुन् एमाले धनकुटाका उम्मेदवार

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनअन्तर्गत धनकुटा एमालेले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि राजेन्द्रकुमार राईको नाम सर्वसम्मत सिफारिस गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको सम्पन्न पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको लागि राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

बहालवाला प्रतिनिधिसभा सदस्य राई नेकपा एमालेका केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्जसमेत हुन् । उनी अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राप्रपाका उम्मेदवार सुनीलबहादुर थापालाई १० हजार चार सय ५९ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । 

हालका बहालवाला प्रतिनिधिसभा सदस्य राईले ३७ हजार तीन सय ३३ मत ल्याउँदा थापाले २६ हजार आठ सय ७४ मत मात्र प्राप्त गरेका थिए । स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर अहिले राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सो पार्टीको केन्द्रीय सदस्यसमेत रहेका थापालाई नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि सर्वसम्मत उनको नाम सिफारिस गरेको छ । सत्तागठबन्धनले धनकुटामा कांग्रेसलाई प्रतिनिधिसभाको उम्मेदवार छान्ने निर्णय गरेमा यसपटक पनि राई र थापाबीच तीव्र प्रतिस्पर्धा हुने निश्चित छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचनअन्तर्गत धनकुटाको प्रदेश सभा निर्वाचन (ख) का लागि एमालेले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । पार्टीको सम्पन्न पूर्ण बैठकले पराजुलीको एकल नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । पराजुली अहिलेका बहालवाला प्रदेश सभा सदस्यसमेत हुन् । उनी ०७४ को प्रदेश सभा निर्वाचनमा २० हजार ६ सय ५२ मतसहित विजयी भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अर्जुन थापालाई १२ हजार चार सय २१ काे फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । थापाले आठ हजार दुई सय ३१ मत मात्र प्राप्त गरेका थिए । प्रदेश सभा सदस्य पराजुली प्रदेश नं. १ का न्याय प्रशासन तथा विद्यायन समितिका सभापति पनि हुन् । 

सुझावित समाचार