काठमाडौं । साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
कांग्रेसले नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक भएको जनाएको छ । निर्दोष नागरिकको ज्यान जाने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य–मान्यतामाथि प्रहार गरेको भन्दै पार्टीले घटनाको निन्दा र भर्त्सना गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले एकजना नेपालीको समेत अनाहकमा जीवन गुम्नु अत्यन्त दुःखद भएको बताएका छन् । उनले साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र आवश्यक परे नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा शोकको यस घडीमा पीडित परिवारलाई दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको छ ।