एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक मान्यता पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी– २० को मान्यता प्राप्त गरेको जनाएको हो।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको आयोजना क्यानले गर्न लागेको हो।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबिएल एनपिएल) का सबै खेलले आधिकारिक मान्यता प्राप्त गरेको उल्लेख छ।
आज दसैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूले आज पनि मान्यजनबाट दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्। नेपाली समाजका कतिपय स्थानमा आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन्। यही परम्पराका कारण विजयादशमीपछि पनि घरघरमा टीका लगाउने, मान्यजनबाट आशीर्वाद लिने र पारिवारिक भेटघाट गर्ने क्रम जारी रहन्छ।
साउदी अरेबियाकाे ड्रोन आक्रमणमा परी नेपालीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त
साउदी अरेबियाको सायबाह तेल क्षेत्रमा हिजो ड्रोन आक्रमणलाई अवरोध गर्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको दुःखद निधन भएको घटनाप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट शब्दमा निन्दा गरेको छ।
आफ्नो सैद्धान्तिक अडान दोहोर्याउँदै नेपालले विवादहरूको शान्तिपूर्ण समाधानका लागि संवाद, वार्ता र कूटनीतिक पहललाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।
विराटनगर किंग्समा श्रीलंकाका एन्जेलो म्याथ्युज
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्वकप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ।
म्याथ्युजले आफ्नो करिअरमा टेस्ट, एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रतिनिधित्व गरिसकेका छन्। मध्यक्रममा जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्षमता, दबाबपूर्ण परिस्थितिमा खेल सम्हाल्ने कौशल र बलिङबाट समेत योगदान दिन सक्ने विशेषताका कारण उनी एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्।
सन् २००८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका म्याथ्युजले श्रीलंकाको राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालिसकेका छन्। उनले सन् २०१४ मा श्रीलंकालाई इंग्ल्यान्डविरुद्ध ऐतिहासिक टेस्ट शृंखला जिताउन कप्तानका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सोही वर्ष उनी आइसिसीको एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा समेत पुगेका थिए।
टीकालगत्तै काठमाडौंमा चहलपहल सुरु (फोटोफिचर)
दसैँको टीकालगत्तै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन उपत्यकाबाट ठुलो संख्यामा मानिस बाहिरिएपछि केही दिन सुनसान बनेका सडक र बस्तीमा चहलपहल बढ्न थालेको छ। टीका सुरु भएसँगै आफन्तकहाँ आउने–जाने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको आवागमन बढेको हो।
पिएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम, केही सरकारी वेबसाइट अस्थायी बन्द
पिएचपी प्रविधिमा आधारित प्रणालीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सम्भावित क्षति रोक्न केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ।
पिएचपी मा देखिएका ‘PHP2Shell’ नामक सुरक्षा जोखिम (CVE-2026-109618 र CVE-2026-109619) लाई गम्भीर प्रकृतिको जोखिमका रूपमा उल्लेख गरिएको छ। यी जोखिमका कारण आक्रमणकारीले प्रयोगकर्ताको लगइनबिनै सर्भरमा कोड चलाउन सक्ने सम्भावना रहेको जनाइएको छ।
सम्भावित साइबर आक्रमण तथा क्षति रोक्न सावधानीस्वरूप केही सरकारी प्रणाली अस्थायी रूपमा बन्द गरिएको सम्बन्धित निकायले जनाएको छ। सुरक्षा प्याच लागू गर्ने तथा आवश्यक परीक्षण पूरा भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने बताइएको छ।
नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च, केही रङमा १० हजार पिपिएमसम्म
नेपालमा लेड (सिसा)को जोखिम जनस्वास्थ्यको गम्भीर विषयका रूपमा देखिएको छ। सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार नेपालका करिब ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च पाइएको थियो।
बजारमा उपलब्ध रङमा समेत लेडको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको छ। रङका ६२ नमुनामध्ये ३० वटा अर्थात् ४८ प्रतिशत नमुनामा लेडको मात्रा प्रतिलाखमा २० भाग (२० पिपिएम) को राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको थियो।
सन् २०२४ मा गरिएको अनुगमनमा रङमा लेडसम्बन्धी राष्ट्रिय मापदण्डको अनुपालन दर ५५ प्रतिशत मात्रै रहेको पाइएको छ। मधेश प्रदेशमा अनुगमनका क्रममा केही रङमा लेडको मात्रा १० हजार पिपिएमसम्म पुगेको पाइएको छ, जुन राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो।
लेडको सम्पर्कले विशेषगरी बालबालिकाको स्वास्थ्य र विकासमा असर पार्न सक्छ। यसबाट हुने जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले अक्टोबर १८ देखि २४ सम्म अन्तर्राष्ट्रिय लेड विषाक्तता रोकथाम सचेतना सप्ताह २०२६ मनाइँदै छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले लेडको जोखिम पहिचानदेखि रोकथामसम्मका उपायबारे सचेतना फैलाउन जोड दिएको छ।
आनी छोइङको नियुक्तिमाथि सूर्य थापाको प्रश्न– लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुँदैन
नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर आलोचना गरेका छन्। उनले लोकप्रियताको आवरणमा विवादास्पद कार्यलाई क्षम्य मान्न नसकिने टिप्पणी गरेका छन्।
थापाले आनी छोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गीत चर्चित भए पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि उनी विवादमा परेको उल्लेख गरेका छन्। पदको प्रलोभनमा पर्नु गलत भएको उनको भनाइ छ।
उनले आनी छोइङ डोल्मासँग जोडिएका सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषयलाई समेत उठाउँदै लुम्बिनी विकास कोषजस्तो पवित्र सम्पदाको नेतृत्वमा विवादमा परेका व्यक्तिलाई नियुक्त गर्न नहुने बताएका छन्।
नेपाल प्रहरीको निःशुल्क बससेवाबाट दुई दिनमा एक हजार ४०६ यात्रु लाभान्वित
पाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट दुई दिनमा एक हजार ४०६ जना यात्रु लाभान्वित भएका छन्। कात्तिक ३ र ४ गते सञ्चालन गरिएको उक्त सेवाबाट ६६९ पुरुष र ७३७ महिलाले यातायात सुविधा लिएका हुन्।
नेपाल प्रहरीको सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते तीनवटा बसमार्फत एक सिफ्टमा सेवा प्रदान गरिएको थियो। उक्त दिन २३६ पुरुष र २७४ महिला गरी ५१० जनाले निःशुल्क बस सेवा उपयोग गरेका थिए।
त्यस्तै, कात्तिक ४ गते यात्रुको संख्या बढेर ८९६ पुगेको थियो। सो दिन ४३३ पुरुष र ४६३ महिलाले तीनवटा बसमार्फत दुई सिफ्टमा सञ्चालन गरिएको सेवाबाट लाभ लिएका थिए।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष खस्दा नेपालीसहित दुईजनाको मृत्यु
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा अन्य दुईजना घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बिचमै निष्क्रिय पारेको थियो। त्यसक्रममा खसेको भग्नावशेषले तेल क्षेत्रमा काम गर्ने ठेकेदारको एउटा सवारीसाधनमा आगलागी भएको थियो।
उक्त घटनामा नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ। घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्।
मन्त्रालयका अनुसार आगलागी प्रशोधन केन्द्रको बाहिरी क्षेत्रमा भएको थियो। घटनाका कारण तेल क्षेत्रको नियमित सञ्चालनमा भने कुनै असर परेको छैन। घटनापछि सम्बन्धित निकायले आवश्यक उद्धार तथा व्यवस्थापनका कार्य अघि बढाएका थिए।