सुनसरी । सुनसरीको कोशी गाउँपालिका– १, लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
बिहीबार दिउँसो करिब १३:५० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ०१३७ नम्बरको मोटरसाइकलचालक भोक्राहा नरसिंह गाउँपालिका– ३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १५:५० बजे मृत्यु भएको हो।
सोही मोटरसाइकलको पछाडि सवार भोक्राहा नरसिंह गाउँपालिका– ३ का २३ वर्षीय विशाल यादव पनि गम्भीर घाइते भएका छन्। उनलाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ।
यस्तै, ७२६१ नम्बरको मोटरसाइकलचालक भोक्राहा नरसिंह गाउँपालिका– ४ का १९ वर्षीय सिद्धार्थ उराव र सोही मोटरसाइकलमा सवार कोशी गाउँपालिका– १ का १९ वर्षीय रोहित उराव मध्यम घाइते भएका छन्।
दुवै घाइतेलाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।