काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपाल भाषासहित प्रदेशका सबै मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा सरोकारवालासँगको छलफलमा मुख्यमन्त्री थापामगरले भाषा ऐनअनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् ।
उनले भाषा, लिपि, कला, संस्कृति र परम्परा विगतका सम्पदा मात्र नभई भावी पुस्ताको पहिचानसँग समेत जोडिएका अमूल्य धरोहर भएको बताए ।
‘हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्,’ उनले भने, ‘यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’
नेपाल भाषासहित प्रदेशमा प्रचलनमा रहेका मौलिक भाषाको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
भाषा र संस्कृतिको संरक्षणले समुदायको मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले तिनको पुस्तान्तरणसँगै दैनिक जीवनमा व्यावहारिक प्रयोगलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षणका क्रममा भएको छलफलमा भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा सरोकारवालासँग विचार–विमर्श गरिएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका मौलिक भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।