रौतहट– १ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ। शनिबार बसेको कांग्रेस क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा पार्टीको मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको नाम सिफारिस भएको हो।

क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस मधेस प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए।

समानुपातिकतर्फ पाँचजनाको नाम सिफारिस गरिएको छ। जसमा क्षेत्र १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ता, चिरञ्जीवी सिंह, सन्तुप्रसाद यादव, प्रकाश सिंहलगायतका नेताहरू सिफारिस भएका छन्।

त्यसैगरी, क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेश सभापति कृष्णप्रसाद यादवकै नाम सिफारिस भएको गुप्ताले जानकारी दिए। ती क्षेत्रमा गठबन्धन हुने निश्चित भएकाले दुवै पदका लागि सभापति यादवकै नाम सिफारिस गरिएको गुप्ताको भनाइ छ।

जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले यादवलाई कुनै एक पदमा चयन गर्नेछ। प्रदेश सभातर्फ क्षेत्र १ ‘ख’ का लागि उम्मेदवार सिफारिस भइसकेका छन्।

सुझावित समाचार