त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जनलाई तीन प्रश्न

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

त्रिविजस्तो प्राज्ञिक संस्थाका पदाधिकारीले सुरक्षाका लागि पिएसओ माग गर्नुपर्ने अवस्था किन आयो होला ?
त्रिविको अहिलेको समस्या राजनीति र दण्डहीनताका कारण उब्जेको हो । यसलाई राजनीतिक तहबाटै समाधान खोज्नुपर्छ । एक दिन होइन, दुई दिन होइन, पदाधिकारीले कतिन्जेल त्रासमा बसेर काम गर्न सक्लान् ? 

शैक्षिक तथा प्राज्ञिक थलोलाई राजनीतिबाट मुक्त गर्न सक्दै नसकिने हो ?
पहिले दलहरू खुला नहुँदा विद्यार्थीले शैक्षिक संस्थामा राजनीति गर्नु स्वाभाविकजस्तो देखिए पनि अब दलहरूले नै सरकार चलाउन थालेपछि शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्न उनीहरूले नै पहल गर्नुपर्छ । सबै दलले प्रतिबद्धता जनाउने हो भने यो कुनै कठिन काम होइन । तर, हामी हुँदा ठिक, अर्को कोही हुँदा बेठिक भन्ने मानसिकता पालेर बस्ने हो भने यस्ता संस्था अस्तित्वहीन हुँदै जान्छन् । 

यस्ता संस्थामा गुन्डागर्दी र अराजकता दोहोरिन नदिने जिम्मेवारी कसको हो ?
गुन्डागर्दी र अराजकता मच्चाउने शक्तिमाथि कारबाही गर्ने सरकारले हो । उसले मेरो वा उसको मान्छे भनेर अनुहार नहेरी उसको कसुरअनुसार कडा कारबाही गर्ने हो भने यस्तो अराजकता स्वतः अन्त्य हुन्छ ।

सुझावित समाचार