अनधिकृत निर्माण रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेकाे हुँ : बालेन

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृत निर्माण कार्य रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरिएकाे बताएका छन् । महानगरपालिकाले अनधिकृत संरचना भत्काउन बल प्रयोग गरेकाे भन्दै प्रश्न उठ्न थालेपछि प्रमुख साहले अनधिकृत निर्माण कार्य रोक्न महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको स्पष्ट पारेका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृितविना निर्माण कार्य गर्न पाउँदैनन्, साथै निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अबउप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कबुलियत गरेका हुन्छन् ।’  

महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको उनको भनाइ छ । कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख साहले कानुनको अनुपालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपर्ने परिस्थिति आएको स्पष्ट पारेका छन् । 

नेपालको संविधान र कानुनले काठमाडौं महानगरपालिकालाई कानुन बनाउने व्यवस्थापकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार दिएको छ । वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तर्निहित कार्यकारिणी अधिकार प्रयोग गरेको उल्लेख गरिएको छ ।     

सुझावित समाचार