सत्तासिन दलहरूबीचकाे गठबन्धन बलियाे बन्दै जाँदा एमाले दबाबमा देखिएकाे छ । साेही दबाबका कारण एमालेले पनि आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेकाे छ। पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, 'हामी चुनौती सामना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो। यस क्रममा जो–जोसँग एजेन्डा मिल्छ, सोही पार्टीसँग चुनावी तालमेल गर्नेछौँ।'
यही बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस हुने निर्णय गरेको छ। बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेस गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ।