शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । शिक्षा समन्वय इकाइका प्रमुखहरूलाई बिहीबार प्रशिक्षण दिँदै उनले सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षणको केन्द्र बनाउन निर्देशन दिएका हुन् ।
स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गरी सुधारका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले विद्यालय सुधार्ने जिम्मा आफूहरूको काँधमा आएको बताए । विद्यालय समायोजनलगायतका काममा सक्रियतापूर्वक लाग्नसमेत उनले निर्देशन दिए ।
शिक्षक सेवा आयोगको नियामवली संशोधनपछि शिक्षकको भर्नाका लागि काम भइरहेको र आयोगबाट तोकिएबमोजिम काम छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवद्र्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन दिए ।