प्रतिनिधिसभामा एमालेले बहुमत ल्याउँछ : ओली

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । झापाको कचनकवलमा बिहीबार भएको आमसभामा उनले यस्तो बताएका हुन् । 

सबैखाले गठबन्धनसँग एमाले एक्लै भिड्ने र गठबन्धनलाई पराजित गर्ने उनको भनाइ थियो । ‘एमालेसँग लड्ने हिम्मत नभएका कमजोरहरू गठबन्धन गर्दै छन् । एक्लै लड्ने हिम्मत नभएका साँटघाँठ गर्दै छन्,’ उनले भने, ‘एक्लाएक्लै लड्ने क्षमता नभएकाले गठबन्धन गर्दै छन् । अपवित्र साँठघाँठको नाम गठबन्धन ! अहिले त आठ–नौवटा पुर्याउने भन्दै छन् । त्यो गठबन्धनको कति पार्टी छन् मतलब छैन । त्यो गठबन्धनमा यहाँ प्रवेश गरेका मान्छेजति पनि छैनन् । गठबन्धनको कुनै अर्थ छैन ।’ 

उनले जित्छु भनेर उच्च मनोबल लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याउने दाबी उनले गरे । उक्त जिम्मवारी जनताको हातमा रहेको बताए । एमालेसँग डराएर गठबन्धन बनेको आरोप लगाएका ओलीले एमालेले हारे देशले हार्ने दाबी गरे । 

‘यो निर्वाचन देशको भाग्य–भविष्य फैसला गर्ने निर्वाचन हो । नेकपा एमालेले जितेन भने देश बर्बादीतर्फ जान्छ । देशलाई बर्बादीबाट जोगाउनका निम्ति एमालेले जित्नुपर्छ,’ उनले भने, ‘एमालेले आफूले सरकार बनाउन र आफूले जित्न होइन देशलाई जिताउन जित्ने हो । एमालेले हार्यो भने देशले हार्छ । एमालेले हार्दा विकासको अभियान र लोकतन्त्रले हार्छ । त्यही भएर एमालेले जित्नुपर्छ ।’ एमालेले गरेको काम घरघरमै प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

See More On

सुझावित समाचार