डा. केसीले दिए सरकारलाई ११ भदौसम्मको अल्टिमेटम

माग पूरा नभए १२ भदौदेखि अनसन थाल्ने

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न सरकारलाई ११ भदौसम्मको समयसीमा दिएका छन् । माग पूरा नभए १२ भदौदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ । 

धरान आएका केसीले शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताए । आफूले उठाएका ६ बुँदे माग पूरा गर्न सरकारले पटकपटक सम्झौता गरेको, तर सम्झौता पूर्ण रूपमा कार्यान्वयन नगरेको उनको आरोप छ । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालै भएका दलीय भागबन्डाको नियुक्ति खारेजी र भ्रष्टाचारको आरोप लागेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बखास्त गर्न माग उनले माग गरेका छन् ।

स्वास्थ्य क्षेत्र सुधारको माग राखेर उनी देशका विभिन्न स्थानमा गरी १९ पटकसम्म अनशन बसिसकेका छन् । अनशन बस्नुपर्ने अवस्था आए २०औँ सत्याग्रहस्थल कहाँ हुने भन्नेबारे खुलाएनन् । 

डा. केसीले यसपटकको सत्याग्रहमा पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुद्दालाई अघि सारेका छन् । प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने, भागबन्डाको आधारमा अनियमिततापूर्वक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएका नियुक्ति तत्काल सच्याउनुपर्ने उनको माग छ । 

पत्रकार सम्मेलनमा उनले आर्थिक चलखेलबाट कांग्रेस नेत्री डिला संग्रौलाका श्रीमान् सूर्यप्रसाद संग्रौलालाई रजिस्ट्रार र डा. जगतनारायण साहलाई अस्पताल निर्देशकमा नियुक्ति गरिएको आरोप लगाए । उनले यसअघिको सम्झौताअनुसार उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन माग गरे । 

सुझावित समाचार