‘एम अधिकारी’सँग अर्थ मन्त्रालयको सिसिटिभी फुटेज साटियो : रवि लामिछाने

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सत्तापक्ष र प्रतिपक्ष मिलेर नै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई उन्मुक्ति दिएको बताएका छन् । धनगढीमा शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘एम अधिकारी’सँग अर्थ मन्त्रालयको सिसिटिभी फुटेज साटेको आरोप लगाए । 

‘यो देशमा प्रतिपक्ष छैन, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज एम अधिकारीसँग साटिएको छ,’ लामिछानेले भने, ‘त्यो सिसिटिभीको हार्डडिस्क मलाई एक घण्टा दिइयोस्, त्यो फुटेज कलरमा, एचडीमा देखाउन सक्छु ।’ 

भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले पुराना पार्टी र नेतालाई आगामी निर्वाचनपछि आराम दिनुपर्ने बताए । देश थप नबिगार्ने हो भने पुराना पार्टी र नेताहरूलाई चुनावमा मतदाताले मत नदिएर रोक्नुपर्ने उनको धारणा थियो । देश अहिलेको अवस्थामा आउनुमा अहिलेका नेता र पार्टीहरूको हात रहेको उनको भनाइ छ । ‘देश अब थप नबिगार्ने हो भने पुराना पार्टीहरूलाई, जो आराम गर्नुपर्ने वेलामा राजनीति गरिरहेका छन् उनीहरूलाई रोक्नुपर्छ । आराम दिनुपर्छ,’ लामिछानेले भने, ‘यसलाई रोक्न सकेनौँ भने यो दोष उनीहरूको होइन, तपाईं हाम्रो हुनेछ ।’ अबको पाँच वर्ष पनि पहिलेकै पार्टी र नेताको हातमा शासनको बागडोर गए देश झन् जर्जर अवस्थामा पुग्ने उनले बताए ।

देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई रोक्न र मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन आफू राजनीतिमा आएको उनको भनाइ थियो । उनले हिम्मतिलो एक व्यक्ति मात्र नेतृत्वमा आए भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबीसमेत गरे । 

आफू सरकारको नेतृत्वमा आए सुदूरपश्चिमबाट हजारौँ युवाले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेसमेत अध्यक्ष लामिछानेले बताए । ‘यहाँका युवाहरू अहिले पनि रगत पसिना भारतमा बगाइरहेका छन्, यो नालायकी कस्को हो ?’ उनले भने, ‘यसलाई अन्त्य गर्न हामी आएका हौँ । उनीहरूको व्यवस्थापन गर्ने ग्यारेन्टी हामी गर्छौँ ।’
         
पत्रकारिता छोडेर राजनीतिमा होमिएका उनले आफू अब टेलिभिजनको पर्दामा नफर्कने बताए । भेलामा उनका समर्थकहरू सहभागी थिए । भेलालाई धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट निर्वाचित मेयर गोपाल हमालले पनि सम्बोधन गरेका थिए । मेयर हमालले परिवर्तनका लागि अब जनता आफैँ जागरुक हुनुपर्ने बताए ।
 

सुझावित समाचार