साउन महिनाको दिउँसोको चर्को घाम । खोलाकिनारमा तरकारीखेतीका लागि निर्माण गरिएका टनेलमा २१ वर्षे वर्षा ताम्राकार असिनपसिन हुँदै माटोबाट ढुंगा छानिरहेकी थिइन् ।
नमुना माध्यमिक विद्यालयमा पढाइ हुने प्राविधिक धारले निर्माण गरेको टनेलमा उनले काम गरेकी हुन् । टनेलमा राम्रो तरकारी उब्जाउने र बिक्री गरेर पैसा लिने सपना उनको छ । प्राविधिक धारअन्तर्गत बालीविज्ञानमा डिप्लोमाको तेस्रो वर्ष अध्ययन ताम्राकार भन्छिन्, ‘पढेको कुरा व्यावहारिक रूपमा अभ्यास गर्दै आम्दानी गर्ने गरी काम गरिरहेकी छु । हामी कृषिका विद्यार्थी हौँ, पढेर जागिरै खानुपर्छ भन्ने छैन । भविष्यमा कृषि फर्म खोलेर पनि जीवन चलाउन सकिन्छ ।’
टनेलमै भेटिएका २२ वर्षे छत्रबहादुर खड्काले यहीँ काम गरेर पढाइ खर्च जुटाउने लक्ष्य रहेको बताए । ‘बुबाआमाले धेरै खर्च गर्नु भइसक्यो । अब म आफैँ पढाइ खर्च उठाउन चाहन्छु,’ बालीविज्ञानमै तेस्रो वर्षमा अध्ययरत खड्काले भने ।
विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कमाउँदै पढ्ने कार्यक्रम सञ्चालनमा आएयता बालीविज्ञान अध्ययन गरिरहेका अति गरिब, विपन्न, जेहेनदार गरी जम्मा २० जनालाई छनोट गरेर काम दिइएको छ । उनीहरू नेपालटार क्षेत्रमा रहेको टनेलमा दैनिक दिउँसो ३ बजेदेखि ६ बजेसम्म काम गरिरहेका हुन्छन् । निर्माण गरिएका आठवटा टनेलमा उनीहरूले काउली, टमाटर, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारी उत्पादन गर्ने भएका छन् ।
नमुना मावि खाटडाँडाका प्राविधिक धारका संयोजक लीलाभक्त राउत भन्छन्, ‘विद्यालयले नै जग्गा, बिउबीजन, मल, औषधि उपचार, बिक्रीवितरणका लागि सहयोग गर्छ । छनोट हुनुभएका विद्यार्थी भाइबहिनीहरूले मिहिनेत गरेर जति बढी उत्पादन गर्नुहुन्छ, त्यसको आम्दानी उहाँहरूको हो ।’

विद्यालयमा बालीविज्ञानसम्बन्धी पढाइ सुरु भएको चार वर्ष पुग्न लागिसकेको छ । ०७५ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धनप्राप्त गरी तीनवर्षे डिप्लोमाको बालीविज्ञानसम्बन्धी पढाइ सुरु भएको थियो । ०७६ सालदेखि पशुविज्ञानसम्बन्धी तीनवर्षे डिप्लोमा पढाइ सुरु भयो ।
दुवै विषयमा जम्मा ४०–४० जनाको कोटा रहेको छ । राउत भन्छन्, ‘सुरुका वर्षमा स्थानीय विद्यार्थी कमै थिए, अहिले बढ्दै गएका छन् । हाम्रो कोटा भनेको दुवै विषयमा गरी ८० जनाको मात्र हो ।’ एक लाख ७० हजार रुपैयाँमा तीनवर्षे कृषि तथा पशुसम्बन्धी डिप्लोमा पढाइ हुने गरेको राउतले बताए ।
कृषि र पशुसम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयले नि:शुल्क पाठ्यपुस्तक र एकवर्षे आवास सुविधा दिँदै आएको छ । राउतले विद्यालयमा भौतिक, रासायनिक, वनस्पति, जीव विज्ञान, भेटनरी, माटो प्रयोगशालाको सुविधा उपलब्ध रहेको जानकारी दिए ।
स्थानीय कृषकलाई सहयोग
विद्यालयले तरकारी, अन्नबाली, बिउ, बेर्ना उत्पादन गर्दै आएको छ । उत्पादन गरेको कृषिजन्य वस्तु बिक्रीवितरण नभए शीतभण्डारमा पनि राख्न मिल्छ । राउत भन्छन्, ‘अहिले हामीले विभिन्न प्रकारका तरकारीका झन्डै ३० हजार तरकारीका बेर्ना तयार पारेका छौँ । यी तरकारी बेर्ना हामीले मात्र रोप्दैनौँ, स्थानीय कृषकलाई पनि वितरण गर्ने गरेका छौँ ।’
कृषकलाई कृषिमा आधुनिकीकरण गर्न सहयोग गर्ने, माटोरहित खेती (हाइड्रोपोनिक्स) विधि पनि सिकाउने, प्रत्येक वर्ष निःशुल्क माटो परीक्षण शिविरमार्फत सेवा दिने, मलको सिफारिस गर्ने, माटोलाई आवश्यक पर्ने रासायनिक मलहरू निःशुल्क वितरण गर्नेलगायतका काम पनि विद्यालयले गर्दै आइरहेको राउतले बताए ।