पार्टी फुटाउने प्रयास असफल भएपछि बाबुरामले अर्काे बाटो रोजे : उपेन्द्र यादव

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको गलत सोचले पार्टी फुटाउने प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गराउनेतर्फ लागेको बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा फुटाउने षड्यन्त्रमा भट्टराई असफल भएर आफ्नो बाटो राेजेको बताएका हुन् । 

भट्टराईसहितका नेताले विधानविपरीत काम गर्दै आएकाले बहुमतको निर्णयका आधारमा कारबाही भएको बताए । उनले भने, ‘बहुमतको दम्भ देखाउने अध्यक्ष डा. भट्टराईको गुटको भेला अवैधानिक छ  । जसपाको बहुमत सदस्यको बैठकले उक्त बैठकमा सहभागी भएकालाई कारबाही गर्ने निर्णय गरेको छ ।’ केन्द्रीय समितिको बैठकले पार्टीको विधानविपरीत अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित नौजनालाई कारबाही गर्ने निर्णय गरेको बताए । 

यादवले अध्यक्ष भट्टराईसहित विस्तारित बैठकमा सहभागी हिसिला यमी भट्टराई, पूर्वमन्त्री महेन्द्रराय यादव ,रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगाबहादुर श्रेष्ठ ,भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको हो । 

अध्यक्ष यादवले जनता समाजवादी पार्टीको वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयमा पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात-अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने तथा संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा निर्णय गरेको बताए । 

उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ । वीरगन्जमा दुई दिनसम्म चलेको बैठकमा करिब तीन सय १७ जना सदस्य सहभागी रहेको दाबी गरे । सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधानविपरीत झुन्डको भेला गरेकाले उनीहरूलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरिएको उनले बताए । 

भट्टराई पक्षले भने नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो । 

सुझावित समाचार