नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सुझाब कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘हाम्रो टेक्निकल टिमले काम गरिरहेको छ । अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति लिएर आउँछौँ । त्यो ल्याउँदा कुनै पनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ ।’
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताए । गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने उनको भनाइ थियो । अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आउने उनले स्पष्ट पारे ।
गभर्नर अधिकारीका अनुसार अहिलेको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सूक्ष्म रूपमा तथ्यांक विश्लेषण गरिरहेको छ ।