धरान उपमहानगरपालिकाको बिहीबारको कार्यपालिका बैठकमा बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले टेबुल ठटाएपछि मेयर हर्क साम्पाङ कड्किए । ‘मैले बजेट बनाउने जिम्मा तपाईंहरूलाई नै दिएको हुँ । मैले कुनै कुरामा हस्तक्षेप गरेँ ? यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेँ ? आफूले गरेको कामलाई स्विकार्न नसक्ने तपाईंहरूको सोच के हो ? आफैँले जन्माएको छोरोलाई छोरा नभन्ने कोठाबाट बाहिर निस्केपछि ?’
बजेटको विषयमा असन्तुष्ट जनाउँदै धरानमा वडाध्यक्षले बजेट पास गर्न दिएका छैनन् । विवादकै कारण बैठक बस्न र बजेट पास हुन सकेको छैन । स्वतन्त्र रूपमा चुनाव जितेका हर्कलाई दोषी बनाउँदै राजनीतिक दलबाट चुनाव जितेका वडाध्यक्षहरूले विभिन्न कारण देखाउँदै कार्यपालिका बैठक अवरुद्ध गरिरहेका छन् । त्यसैले बिहीबार सुरुमै हर्कले भने, ‘के–के गर्नुपर्ने हो, आजै गर्नुहोस् । बजेट पास गर्नलाई पार्टीकै मेयर आउनुपर्ने हो ? तपाईंहरूले मलाई स्वतन्त्र भनेर हेपेको ? याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ । हेक्का राख्नुहोस् प्रतिद्वन्द्वी उम्मेदवारको भन्दा पाँच हजार मत बढी लिएर आएको छु ।’
उनले वडाध्यक्षहरूलाई बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? भनेर प्रश्न गरे । उनले सोधे, ‘बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? खल्तीको पैसा हाल्नुहुन्छ ? कि डोनेसन माग्नुहुन्छ ? जहिले पनि बैठक सारेको छ, सारेको छ । तपाईंहरू पनि चुनाव जितेर आएको मान्छे हो । धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’
बजेट बनाउने क्रममा वडाध्यक्षहरूलाई आफूले पूरै अथोरेटी दिँदा पनि अवरोध पुर्याएको भन्दै आक्रोशित हुँदै उनी फेरि कड्किए, ‘बजेट पास भएन भनेर मेयरलाई दोष थुपारेर आफू पन्छिन पाउँछु भन्ठानेको हो ? बजेट पास भएन भने मेयरले जिम्मा लिन्छ भन्ठानेको ? नगरपालिका मेरो मात्रै ठेक्का हो ? तपाईंलाई जनताले जिताएका होइनन् ? यति गैरजिम्मेवार नबन्नुहोस् । मैले विगत पनि हेरेर आएको छु। धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’
उनले बजेट पास गर्न ढिलो भइसकेको भन्दै उपमेयरमाथि पनि छलफल किन नचलाएको भन्दै प्रश्न गरे । उनले भने, ‘तपाईंले छलफल चलाउनुभएन ? हामीले बजेट कहिले पास गर्ने ? ८० सालको असारमा ? बदनाम भइसकियो अझै कति बदनाम हुने ? कसलाई कति रुप्पे दिने, उपमेयर कोष बनाउने–नबनाउने सबै तपाईंहरूले निर्णय गर्नुहोस् र बजेट पास गर्नतिर लाग्नुहोस् ।’