बाजुराको बुढीगंगा नगरपालिकामा बिहान ११ बजेसम्म २८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए। ३० वैशाखमा कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानस्थलमै कुटपिट भएपछि रोकिएको निर्वाचन आज शान्तिपूर्ण रुपमा भइरहेको छ ।
१० मतदानस्थल र १९ मतदान केन्द्र तोकिएको नगरपालिकामा सुरक्षित वातावरणमा मतदान गराउन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । हरेक मतदानस्थलमा सयको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका डिएसपी सूर्यबहादुर थापाले बताए ।
कडा सुरक्षाका साथ आज उत्साहपूर्ण रूपमा मतदान जारी छ । जिल्ला निर्वाचन कार्यालयले बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएकाे जनाएको छ ।
१० वडा रहेको नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता छन् । नगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् । कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई उठाएको छ ।