निर्वाचनपूर्व वाम ध्रुवीकरणको प्रयास

सहकार्यको मोडालिटी खोजी, निर्वाचनअघि कांग्रेस र एमालेबाहेकको तेस्रो शक्तिशाली धार बनाउने रणनीति

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

समाजवादी वैकल्पिक क्रान्तिकारी धार निर्माण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यको बैठक गरेका छन् । प्रचण्डको अग्रसरतामा आइतबार सा“झ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच वाम धु्रवीकरणको विषयमा छलफल भएको छ ।

 एकीकृत समाजवादीका सम्मानित नेता खनालले वाम एकतालगायतका विषयमा प्रारम्भिक छलफल भएको र फेरि चाँडै छलफलमा बस्ने समझदारी भएको जानकारी दिए । ‘पाँचजना बसेर अहिले देशको परिस्थिति, स्थानीय तह निर्वाचनको परिणामबारे समीक्षा ग¥यौँ । वाम आन्दोलनको भविष्यबारे पनि हामीले समीक्षा गरेका छौँ । हाम्रो जोड वाम एकतामा छ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘छलफलको सुरुवात भएको छ । आजै टुंगोमा पुग्ने कुरो भएन, क्रमशः छलफल गर्दै जान्छौँ । चाँडै अर्को छलफलमा बस्छौँ ।’

प्रचण्डको सचिवालयका अनुसार ‘वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धन’का विषयमा छलफल भएको छ । छलफललाई निरन्तरता दिने समझदारी पाँच नेताबीच बनेको उनको सचिवालयले जनाएको छ । बैठकमा नेताहरूले सहकार्यको मोडालिटी कस्तो बनाउने भन्नेबारे पनि छलफल गरेका छन् । तर, टुंगोमा पुग्न सकेका छैनन् । पहिलो चरणमा एकताको सामूहिक अपिल गर्नेबारे विमर्श भएको छ । प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमै भनेका थिए, ‘नेकपाकालीन सचिवालयका बहुमत सदस्य एकजुट भएर कम्युनिस्टहरूको एकताका लागि अपिल गर्ने तयारी भइरहेको छ । चाँडै हुन्छ ।’ 

माओवादी, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान वाम धु्रवीकरणको पक्षमा छन् । निर्वाचनअगाडि कांग्रेस र एमालेबाहेकको तेस्रो शक्तिशाली धार बनाउने उनीहरूको रणनीति छ । सोहीअनुसार छलफलको सुरुवात भएको एक नेताले बताए । नेकपा पुनर्गठनको अभियान चलाएका गौतमले वाम एकताका लागि सबै शक्ति लचिलो हुनुपर्नेमा जोड दिएका थिए । वाम शक्ति विभाजित हुँदा स्थानीय निर्वाचनमा धक्का खानुपरेको र संघीय निर्वाचनमा झन् ठूलो असर पर्ने गौतमले बताएका थिए । 

स्रोतका अनुसार वाम एकता र कम्युनिस्ट आन्दोलनको इतिहासबारे नेताहरूबीच छलफल भएको थियो । नेकपा ब्यँुताउने र मजबुत कम्युनिस्ट पार्टी निर्माण गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । ‘विभाजित भएको कम्युनिस्ट आन्दोलनले देश र जनताको हितमा काम गर्न सक्दैन । कम्युनिस्ट शक्ति मिल्दा शान्तिपूर्ण रूपमै देश कायापलट गर्न सकिन्छ’ भन्ने आशय पाँचै नेताको थियो । सकभर सबै वाम शक्तिबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यो सम्भव नभए बढीभन्दा बढी शक्तिलाई एकताबद्ध गर्दै अगाडि बढ्ने समझदारी पाँच नेताबीच भएको छ । 

प्रचण्डले आफ्नो प्रतिवेदनमा समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आवश्यक रहेको बताएका छन् । क्रान्तिकारी शक्ति निर्माणजस्ता विषयमा खुला छलफल र बहस गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । क्रान्तिकारी धारले केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने विश्वास प्रचण्डको छ ।

सुझावित समाचार