जताततै पिउन अयोग्य पानी वितरण

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानी पिउन अयोग्य भएको पाइएको छ । वितरित खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इ. कोलाई) भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउनयोग्य नरहेको भेटिएको छ ।

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले शुक्रबार अनुगमनलाई तीव्रता दिने जनाएको छ । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । सबैतिरको पानीमा जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ : वसन्त अधिकारी प्रमुख, स्वास्थ्य कार्यालय काठमाडौं

उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ, समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ । हामीले केयुकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकालाई यसबारे सचेत हुन, पानीको शुद्धता मापन गर्न र जनचेतना फैलाउन आग्रह गरेका छौँ ।

See More On

सुझावित समाचार