सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् । विशेष अदालतले पौडेललाई करिब ४२ करोड रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै उक्त सम्पत्ति जफत हुने फैसला गरेको छ । साथै, उनलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गरेको हो । अदालतले विदेशमा रहेको उनको सम्पत्तिसमेत जफत हुने फैसला गरेको छ । अदालतका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको ठहर भएको सम्पत्ति जफतसँगै पौडेलले थप करिब ४२ करोड रुपैयाँ बिगोसमेत तिर्नुपर्नेछ ।
पौडेल यसअघि पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी यो मुद्दामा भने अदालतले उनको सम्पत्तिको स्रोत र वैधानिक आम्दानीबिचको अन्तरका आधारमा सम्पत्ति जफत तथा बिगो असुल गर्ने फैसला गरेको हो । पौडेलले ६२ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले उनको ४१ करोड चार लाख ७३ हजार २८२ रुपैयाँबराबरको सम्पत्ति जफत हुने फैसला गरेको हो । यसमा उनकी श्रीमती एलिना बस्नेत तथा बुबा धर्मप्रसाद पौडेल र आमा शीतल पौडेलले भने अदालतबाट सफाइ पाएका छन् ।
छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा उनको २५ करोड २३ लाख रुपैयाँबराबरको विदेशी मुद्रा भेटिएको थियो । सिंगापुर सरकारले नै उनको नाममा सो रकम रहेको भनेर इमेल गरेको तथा पौडेलले पनि त्यहाँ आफ्नो खाता भएको भनेर स्वीकार गरेकाले सो रकमलाई भने उनको आर्जनका रूपमा अदालतले गणना गरी जफत हुने फैसला गरेको छ । पौडेलले भने परामर्श सेवाबापत आफूले सो रकम कमाएको दाबी गरेका थिए । अख्तियारले भने सरकारी ठेक्काबापत उनले सो खातामा कमिसन बुझ्दै आएको दाबी गरेको थियो । अमेरिकाको रबिनहुड सेक्युरिटीमा समेत उनको आठ करोड ४७ लाख ६० हजारबराबरको लगानी रहेको अख्तियारको दाबी प्रमाण नपुगेको भन्दै बिशेषले अस्वीकार गरेको छ ।
पौडेलविरुद्ध आठ प्रकारका मुद्दा दायर भइसकेका छन् । जसमध्ये कतिपयमा उनी दोषी ठहर भइसकेका छन् । ३ वैशाख ०८० मा ६९ करोड आठ लाख ८१ हजार बिगोको गैरकानुनी लाभहानि, ९ वैशाख ०८१ मा झुटा विवरण पेस गरेर सरकारी नियुक्ति लिएकामा १० हजार जरिवानासहितको अर्को मुद्दा, लगत्तै ३० वैशाखमा ४० करोड ८५ लाख ७४ हजार बिगो दाबी गरेर गैरकानुनी लाभहानिको मुद्दा दायर भएको थियो ।
त्यस्तै, लगत्तै ९ जेठ २०८१ मा ६२ करोड गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएकोमा त्यसमा हाल फैसला भएको हो । १० असार ०८१ मा ३८ करोड ६७ लाख १७ हजार ६४० बिगोको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी मुद्दा, ८ असोजमा एक करोड ४६ लाख ६६ हजार बिगोको हुन्डी कारोबार मुद्दा, १४ असोजमा एक अर्ब ८३ करोड जरिवानाको विदेशी विनिमय अपचलन र २६ वैशाख ०८३ मा ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ बिगोको मुद्दा दायर भएका छन् । पौडेल साढे दुई वर्षदेखि कारागारमा छन् ।