नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति तथा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बुढाले शनिबार केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै उनले महाधिवेशनमा सहभागी हुन देश तथा विदेशका विभिन्न स्थानबाट काठमाडौं आएका महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्वागत गर्दै महाधिवेशन सफलताको शुभकामना दिएका छन्।
बुढाले १५औँ महाधिवेशनलाई लोकतन्त्र, एकता, सहमति र रूपान्तरणको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। महाधिवेशनले पार्टीलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउँदै नयाँ ऊर्जा र नयाँ संकल्पका साथ अघि बढ्ने मार्ग प्रशस्त गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
जाजरकोटबाट प्रतिनिधिसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै निर्वाचित बुढाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी दुई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। नेपाल विद्यार्थी संघ हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको जिम्मेवारी सम्हालेका बुढा सानै उमेरमा कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
कांग्रेसको १३औँ जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका बुढा १४औँ अधिवेशनबाट उपसभापति हुँदै हाल जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन्।
संघीय संसदमा जनताका आवाज उठाउँदै आएका बुढा जनताका समस्या समाधानका लागि पनि सक्रिय रहेको बताउँछन्। ४० वर्षीय बुढाले बदलिँदो समयसँगै नेपाली कांग्रेसलाई सबै पुस्तासँग जोड्दै आगामी दिनमा जनताले अझ बढी भरोसा गर्ने पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
केन्द्रीय सदस्यका रूपमा पार्टीको संगठन सुदृढीकरण, जनमुखी राजनीतिक अभ्यास र पार्टीलाई थप गतिशील बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको बुढाको भनाइ छ।