काठमाडौं / सिभिल तथा यातायात इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसीले सन् २०१० मा अमेरिकाको हवाई विश्वविद्यालयबाट सिभिल तथा वातावरणीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनले यातायात इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका छन्।
नेपालको पूर्वाधार, यातायात, सडक सुरक्षा, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत केसी सन् २०१२ देखि कार्यकारी परामर्श इन्जिनियरिङ तथा योजनाकार प्रालिका प्रबन्ध निर्देशकका रूपमा संलग्न छन्। उनी नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत हुन्।
केसीले विश्व बैंक समूह नेपाल, रिक्यापर हेल्भेटास, अन्तर्राष्ट्रिय श्रम संगठन, सडक विभाग तथा विश्व बैंक, राष्ट्रिय योजना आयोग, प्राक्टिकल एक्सन नेपाललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग विभिन्न भूमिकामा काम गरिसकेका छन्। यातायात, सडक पूर्वाधार, योजना तथा विकासका क्षेत्रमा उनले प्राविधिक तथा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्।
शिक्षण क्षेत्रमा समेत संलग्न केसीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक तथा नेपाल इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा यातायात इन्जिनियरिङसम्बन्धी विभिन्न विषय अध्यापन गरेका छन्। उनले विभिन्न इन्जिनियरिङ कलेजमा सडक सुरक्षा तथा यातायातसम्बन्धी विषयमा अतिथि व्याख्यानसमेत दिँदै आएका छन्।
केसी प्राविधिक पेसासँगै लोकतान्त्रिक तथा राजनीतिक गतिविधिमा समेत संलग्न रहँदै आएका छन्। उनी लोकतान्त्रिक इन्जिनियर केन्द्र नेपालका संस्थापक सदस्यमध्ये एक हुन्। सन् २०१८ देखि २०२० सम्म उनले संस्थाको निर्वाचित केन्द्रीय उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए।
उनी नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यसमेत भइसकेका छन्। नेपाली कांग्रेसका संगठनात्मक गतिविधिमा पनि आफू लामो समयदेखि संलग्न रहँदै आएको केसीले बताएका छन्। केसीले आफ्नो उम्मेदवारीलाई राजनीतिक निर्णय प्रक्रियामा प्राविधिक ज्ञान, अनुसन्धान, वैज्ञानिक योजना तथा प्रभावकारी व्यवस्थापनलाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
भूकम्प, कोभिड–१९ महामारी, बाढी–पहिरोलगायतका विपत् तथा पछिल्ला सामाजिक–राजनीतिक परिवर्तनले विकासका लागि राजनीतिक प्रतिबद्धतासँगै प्राविधिक क्षमता, अनुसन्धान र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताएका छन्।
पछिल्लो पुस्ताको आन्दोलनले नयाँ पुस्ताको सोच, अपेक्षा र परिवर्तनको चाहनालाई उजागर गरेको उल्लेख गर्दै केसीले युवा, प्राविधिक तथा विज्ञ समुदायको ज्ञान र क्षमतालाई पार्टीको नीति निर्माण तथा नेतृत्व विकासमा प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपालका विकास चुनौती समाधानका लागि राजनीतिक शक्ति, विज्ञ, प्राविधिक तथा नागरिक समाजबिच आवश्यक विषयमा सहकार्य र ज्ञान–सिप आदानप्रदानको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
हिमाल, पहाड र तराईका नागरिक, युवा पुस्ता तथा प्राविधिक र विज्ञ समुदायका आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने लक्ष्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन्। उनको उम्मेदवारीको मूल नाराका रूपमा ‘अनुभवबाट सिक्दै, प्रविधिसँग अघि बढ्दै र सहकार्यबाट समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने सन्देश अघि सारिएको छ।