नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका– २, एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।
उक्त बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने दुईजना सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका– ३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँचजना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमान्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डन्डामा लगेको थियो । घाइतेहरूको अहिले मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।