कक्षा आठसम्मको दिवाखाजाका लागि बजेट नआएकोमा शिक्षामन्त्री पौडेलको गुनासो

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा आठसम्मको दिवाखाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा आठसम्म दिवाखाजा पुर्याइने भनिए पनि बजेट प्रस्तुत हुँदा कक्षा आठसम्म पुर्याउने गरी हाललाई ६ कक्षासम्म भन्ने भाषाको प्रयोग गरिएको उनले बताए। यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै उनले यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए।

‘दिवाखाजा हामीले कक्षा आठसम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुसी व्यक्त गर्दछु । तर, कक्षा आठसम्म हामीले गरेको प्रस्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भनेको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा आएन । बजेटमा आठसम्म पुर्याउने गरी हाललाई यो वर्ष ६ भन्ने भाषामा आयो । यो मन्त्रालयको तर्फबाट भएको त्रुटिभन्दा पनि यसप्रकारका त्रुटिहरू समग्र सच्याउनुपर्छ भन्ने कुरा जायज छ,’ उनले भने ।

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुरा डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गरे ।

सुझावित समाचार