राष्ट्रसंघीय नमुना सम्मेलनमा अंकुरमका ३१ विद्यार्थी

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ चितवनको सौराहामा नमुना संयुक्त राष्ट्र संघीय महासभा (मुन) सुरु भएको छ । चितवनका दुई र काठमाडौँका ६ सहित आठ विद्यालयका ८० विद्यार्थीको सहभागितामा बिहीबारदेखि नमुना संयुक्त राष्ट्र संघीय महासभा सुरु भएको हो ।

सभा सञ्चालक समितिमा पनि २० विद्यार्थी हुनेछन् । कार्यक्रमको सुरु हुनुअघि पत्रकार सम्मेलन गर्दै भरतपुरको अंकुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले आफ्नो विद्यालयबाट मात्र ३१ जना विद्यार्थी नमुना सभामा सहभागी हुने बताए । उनका अनुसार सभामा सहभागीले विभिन्न देशको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय मानव अधिकार, अन्तर्राष्ट्रिय प्रेस, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा रही आफ्ना परिषद्को एजेन्डामा विस्तृत छलफल गरी तार्किक भनाइ प्रस्तुत गर्नेछन् । 

संयुक्त राष्ट्र संघको सांगठनिक अवधारणा र अभ्यासको विषयमा विद्यार्थीलाई ज्ञान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो । जसले विद्यार्थीको नेतृत्व विकास, कूटनीतिक सीपको विकास, वाक् कलालगायत विकास हुने विश्वास छ । 

सिक्स ह्याट्स प्रालिको आयोजनामा सुरु भएको कार्यक्रम आइतबार प्रत्येक एजेन्डामा संकल्प पत्र तयार गरी सम्पन्न हुनेछ । कार्यक्रममा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन छनोट गरिनेछ । उनीहरूलाई अमेरिकामा हुने नमुना राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन २५ देखि ७५ प्रतिशतसम्मको खर्च सञ्चालक समूहले व्यहोर्नेछ ।

सुझावित समाचार