मनाङका सामुदायिक विद्यालयमा दिवा खाजाले जगायो उत्साह

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण
मनाङका सामुदायिक विद्यालयमा दिवा खाजाले जगायो उत्साह

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाममा रहेको लोकप्रिय मावि, चामेमा दिवा खाजा खाँदै गरेका विद्यार्थी ।

मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रिय नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने १० वर्षीया सस्मिता घले नियमित विद्यालय आउँछिन् । यसअघि उनी मन लागे आउने र नलागे नआउने गर्थिन् । बालबालिकाका लागि दिवा खाजाको सुरुवात गरेपछि घलेलाई विद्यालय आउन जाँगर चलेको हो । दिवा खाजाले उनीजस्तै धेरै बालबालिकालाई नियमित बनाएको छ । बालबालिकामा उत्साह पनि जगाएको छ । नयाँ विद्यार्थीको संख्या पनि उत्तिकै बढेको छ । ‘पहिला विद्यालय आउनै मन लाग्दैनथ्यो । भोक लागेपछि पढाइ छाडेर घर जान मन लाग्थ्यो,’ सस्मिताले भनिन्, ‘स्कुलमै खाजा खान पाइएपछि बीचमा घर जान मन लाग्दैन ।’ 

पढाइ छाडेर हातमुख जोड्नका लागि मात्र जोतिनुपर्ने वर्ग र समुदायका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको सस्मिताको भनाइ छ । पहिलेपहिले भोकभोकै पढ्नुपथ्र्यो, अहिले विद्यालयमा खाजा सुरु भएपछि भरिएको पेटमा पढ्न पाउँदा पढाइमा ध्यान केन्द्रित भएको छ,’ उनले थपिन् ।

विद्यालयका बालबालिकाको स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, समानताका साथै उनीहरूको प्रोत्साहनस्वरूप सरकारले दिवा खाजाको अवधारणा ल्याएको हो । विद्यालयमा बालबालिकालाई पोषणयुक्त खाजा खाने अवसरले स्वास्थ्य राम्रो हुने र सर्वपक्षीय मानवीय क्षमताको विकास हुने अध्ययनले देखाएको छ । दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षमा महत्वपूर्ण मानिन्छ । यही कारण सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई एक सय ८० दिनसम्म दिवा खाजा खुवाउने अवधारणा ल्याएको हो । १५ जेठमा जारी आगामी आर्थिक वर्षको बजेटबाट सरकारले ६ कक्षासम्मका बालबालिकाका लागि खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । यसले विपन्न गरिब विद्यार्थीहरूसमेत लाभान्वित छन् ।

विद्यालयमा सस्मिता मात्र होइन, लोकप्रिय माविको कक्षा ५ मा अध्ययनरत अर्का विद्यार्थी एलिसा गुरुङ पनि दिवा खाजाले आफूहरूलाई धेरै सहज भएको बताउँछिन् । ‘आमा–बा ज्यालामजदुरी गर्नुहुन्छ, बिहान–बेलुका छाक टार्न धौधौ छ,’ उनले भनिन्, ‘विद्यालयमै दिवा खाजाले धेरै राहत पुगेको छ । यसले हामीलाई हौसला प्रदान गरेको छ ।’

अभिभावक भन्छन्– विपन्नका लागि वरदान हो 
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ भौगोलिक रूपले विकट छ । मनाङका चार स्थानीय तहका बासिन्दा अझै पनि कृषि तथा पशुपालन र पर्यटनमा निर्भर रही परम्परागत व्यवसाय सञ्चालन गरी दैनिकी चलाउँदै आएका छन् । स्थानीयसँगै बाहिरी जिल्लाबाट मनाङमा अस्थायी रूपमा बसोवास गरेका मजदुरका बालबालिकाको भरमा हिमाली जिल्ला मनाङका सामुदायिक विद्यालय चलेका छन् । यसअघि विद्यालयको पहुँचभन्दा बाहिर रहेका मजदुरका बालबालिकासमेत दिवा खाजा कार्यक्रम सञ्चालन भएसँगै विद्यालयको पहुँचमा पुगेका छन् । स्थानीय अभिभावक विष्णु गुरुङ भन्छन्, ‘बालबालिकालाई घरमै खाजा खुवाउन कसैको गच्छे पुग्दैन, कसैले कामको चटारोले भ्याउँदैनन् । यस्तोमा विद्यालय खाजा कार्यक्रम वरदान बनेको छ ।’

मनाङका विद्यालयमा दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको छ । यहाँका २६ सामुदायिक विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थी दिवा खाजाबाट लाभान्वित भएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईको भनाइ छ । उनका अनुसार विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको छ । मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रिय माविका शिक्षक सुरेश थापा दिवा खाजाले नियमित विद्यालय नआउने विद्यार्थीहरू पनि अहिले आउने गरेको बताउँछन् ।’ 

सरकारी विद्यालयमा सञ्चालन गरेको दिवा खाजाले निजीमा गएका विद्यार्थीहरू सामुदायिक विद्यालयमा फर्किएका छन् । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । जिल्लाभर चारवटा माध्यमिक विद्यालय, आठवटा आधारभूत र १५ वटा प्राथमिक विद्यालय छन् । प्रारम्भिक बालविकास शिक्षामा दुई सय १० र १ देखि ५ सम्म तीन सय ३० जना विद्यार्थी दिवा खाजाबाट लाभान्वित छन् । जिल्लाका २६ वटा सामुदायिक विद्यालयमा ६ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । चारवटै स्थानीय तहले सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य दिवा खाजाले सकारात्मक सन्देश दिएको बताउँछन् । सामुदायिक विद्यालयमा खाजा सेवाको व्यवस्थापन गर्नु सबैका लागि आधारभूत शिक्षा दिने महत्वपूर्ण सर्त बन्ने प्रजिअ आचार्यले सुनाए । यहाँका विद्यालयले दिएको सन्देश पनि यही हो । नेपाल सरकारले यस्तो कार्यक्रम केही वर्षयता मात्र लागू गरेको हो, त्यो पनि सबै विद्यालयमा होइन । जहाँ कार्यक्रम लागू भएको छ, त्यहाँ कक्षामा नियमित आउन थालेका छन् । यसले कक्षाकोठाको पढाइको गुणस्तर वृद्धिमा सहयोग पुर्याएको लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाको दाबी छ । 

स्थानीय सरकारको चासो
विद्यालयले मात्र होइन, अहिले स्थानीय सरकारले पनि कार्यक्रम सञ्चालनमा चासो देखाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाले संघीय सरकारले भन्दा पहिले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । ‘गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको नियमितता दरमा वृद्धि गराई सिकाइ उपलब्धिमा सुधार गर्न बालबालिका दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘मनाङको चामेको लोकप्रिय माविमा मात्र होइन, नासो, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका अधिकांश विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।’सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ का अनुसार बालबालिकाको स्वास्थ्य, पोषणयुक्त खाना, विद्यालयमा नियमित दर वृद्धिलगायतका लक्ष्य राखी सन् १९६७ देखि यो कार्यक्रम लागू गरिएको हो ।
 

सुझावित समाचार