बाढीले चार जलविद्युत् आयोजना प्रभावित : बुढीगण्डकी करिडोरका दुई पक्की पुल, दुई झोलुंगे पुल र एक बेलिब्रिज पनि बगायो

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले आयोजनाका क्याम्प, आवास, निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँचमार्ग र बेलिब्रिजसमेत बगाएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को प्रारम्भिक विवरणअनुसार बुढीगण्डकी, दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ । यसअघि त्रिशूली र कालीगण्डकी करिडोरका आयोजनासमेत बाढीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ ।

३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढीले बगाएको छ । क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ । 

आयोजना प्रवद्र्धक टाइम्स इनर्जीका अध्यक्ष हिमप्रसाद पाठकले बाढीका कारण आयोजनाको निर्माण प्रभावित भएको बताए । ‘हाम्रो आवास क्षेत्र ठुलो थियो । त्यहाँ रहेका आवास तथा घरहरू बगायो । ठाउँ–ठाउँका पहुँचमार्गसमेत बगाएको छ,’ उनले भने । उनका अनुसार बाढीले आयोजनाका केही निर्माण उपकरण तथा सामग्रीसमेत बगाएको छ । 

यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत्को बेलिब्रिज पनि बगाएको छ । अनुसार परियोजनाको क्याम्प क्षेत्रमा भएका घरहरू पनि बाढीमा बगेका छन् । यसैगरी, ३०.५९ मेगावाटको यारू खोला जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ । उक्त परियोजनाको निर्माण सामग्री तथा उपकरण बगाएको छ । साथै, बेलिब्रिजसमेत क्षतिग्रस्त भएको इप्पानको भनाइ छ । 

इप्पानका अनुसार १६ मेगावाटको माछा खोला जलविद्युत्को भने पहुँच मार्ग प्रभावित भएको छ । यसैगरी, आयोजना स्थल पुग्ने पुलमा पनि क्षति पुगेको इप्पानले बताएको छ । त्रिशूली करिडोरमा रहेका जलविद्युत् आयोजना १० भदौको बाढीले प्रभावित भएका थिए । त्यसबाट ४३१ मेगावाटका १२ परियोजना बन्द नै भएका छन् । पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन समय लाग्ने देखिन्छ । 

यसैगरी, असोज ८–११ को बाढीले पनि कालीगण्डकी करिडोरका परियोजना प्रभावित भएका थिए । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन प्रभावित हुँदा अहिले १९० मेगावाटका सात परियोजना बन्द छन् ।

उक्त दुई बाढीले निर्माणाधीन अवस्थामा रहेका अन्य आयोजना पनि प्रभावित भएका थिए । त्यसलगत्तै, आइतबारका बाढीले थप चार निर्माणाधीन आयोजना प्रभावित भएका हुन् । तर, रसुवा बाढीको तुलनामा यसमा कम क्षति भएको परियोजनाहरू बताउँछन् । 

दुई पक्की, एक बेलिब्रिज र दुई झोलुंगे पुल बगे 
बुढीगण्डकी करिडोरका दुई पक्की पुल, दुई झोलुंगे पुलका साथै एक बेलिब्रिज पनि बाढीको चपेटामा परेका छन् । बाढीले आरुघाट गाउँपालिका २ र ३ जोड्ने (सोती र मान्बु) पक्की पुल बगाएको छ ।

यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुल पनि बगाएको छ । गोर्खा र धादिङ जोड्ने आरुघाटमा बेलिब्रिज जडान गर्न सकिने देखिएको छ । त्यसका लागि प्राविधिक अध्ययन भइरहेको सडक विभागले बताएको छ । 

बाढीले धार्चे गाउँपालिका– १ र ३ जोड्ने दोभान खोलाको बेलिब्रिजसमेत बगाएको छ । यो दोभान खोला जलविद्युत्को बेलिब्रिज हो । यस्तै, पामु र पाती, माछी खोला र केरौँजा, तथा न्याकचेत र सिर्दिबास जोड्ने तीन झोलुंगे पुल बगाएको छ । 

यसैगरी, रसुवा बाढीमा ४१ मोटरेबल पुल बगाएको थियो । त्यसबाहेक थप चार पुल क्षतिग्रस्त भएका थिए । यसैगरी, असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले कालीखोला पुल बगेको थियो । 
 

सुझावित समाचार