दसैँमा ६ दिन सरकारी अस्पतालमा ओपिडी सेवा बन्द हुने

इमर्जेन्सी तथा अत्यावश्यकीय सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं/ बडादसैँको ६ दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा (ओपिडी) बन्द गर्ने भएका छन् । फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात् ३१ असोजदेखि ६ कात्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपिडी सेवा बन्द हुने भएको हो । 

अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने २४सै घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार दसैँका वेला स्वास्थ्यकर्मीको बिदा पालो गरेर बस्न र ओपिडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ । उनका अनुसार चाडबाडका वेलामा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी अन्य दिन बिदा बस्न सक्नेछन् । 

‘दसैँका वेला नियमित ओपिडी बन्द हुन्छन्, तर इमर्जेन्सी सेवाचाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ । अप्ठेरो तथा जाँच गर्नैपर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्नुहुनेछ,’ अधिकारीले भने, ‘तर, नियमित ओपिडीचाहिँ बन्द हुन्छ, दसैँको वेलामा बिरामीको चाप पनि कम हुन्छ, उपचार गर्नैपर्ने बिरामीलाई इमर्जेन्सी सेवा छँदै छ ।’

उनले अन्य समयमा भन्दा ओपिडी सेवा बन्द भएको समयमा इमर्जेन्सी प्रभावकारी बनाउन १६ वटै संघीय अस्पताललाई निर्देशन दिइसकेको बताए । अस्पतालहरूले आफ्नो अस्पतालमा बिरामीको चाप हेरेर बिदासम्बन्धी निर्णयसमेत गर्न सक्नेछन् । 

स्वास्थ्य मन्त्रालयले नजिकिँदै गरेका बडादसैँमा केही दिन बिदा भए पनि नेपाल संवत्, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशनसमेत दिएको छ । 

मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ । 

एम्बुलेन्स सेवा पनि रोक्न नपाइने
बडादसैँको बेला २४सै घण्टा एम्बुलेन्स सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउनेछैनन् । यसबाहेक दसैँपछि पनि अपे्रसन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जनाएका छन् । त्यस्तै, तत्काल अपे्रसन तथा उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले नफर्काउन मन्त्रालयले निर्देशन दिएको छ ।

भर्ना भइसकेका र अपे्रसनको पालो कुरेका बिरामीलाई पनि अस्पतालले फर्काउन नपाउने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ । ‘उपचारका लागि आएका बिरामीलाई फर्काउन पाइँदैन, शल्यक्रिया गर्नुपर्ने तथा जटिल अवस्थाका बिरामीको अवस्थाअनुसार उपचार गर्नुपर्नेछ,’ उनले भने, ‘भर्ना भइसकेका, शल्यक्रिया गरेकाको फलोअपमा पनि अस्पतालले ध्यान दिनुपर्नेछ ।’ 

गम्भीर रोगका बिरामीको उपचार सहज बनाइने
चाडबाडका वेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको भनाइ छ ।

दसैँका वेला अत्यावश्यक अवस्थाका बिरामीको उपचार नरोक्न, एम्बुलेन्स र आकस्मिक उपचार सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ । ‘ओपिडीबाहेकका अन्य सेवा अस्पतालले दसैँका वेला प्रदान गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘दसैँको बहानामा गम्भीर रोगका बिरामीको उपचार रोक्ने अस्पताललाई कारबाही हुन्छ ।’ मन्त्रालयले सबै अस्पताललाई परिपत्र गरेको छ ।

त्यस्तै सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई पनि परिपत्र भइसकेको छ । अस्पतालहरूले गम्भीर रोगका बिरामीलाई सहज उपचार सेवा दिनुपर्नेछ । डायलाइसिसका बिरामीलाई पुरानै तालिकाअनुसार उपचार सेवा दिनुपर्नेछ ।

नियमित शल्यक्रिया सेवा पनि रोकिने
दसैँका वेला नियमित शल्यक्रिया सेवासमेत ठप्प हुनेछ । तर, इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिनेछैन । ‘दुई–चार दिन पछि गरे पनि हुने शल्यक्रियाको पालो सर्न सक्छ, तर आजको आजै वा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीको सबै सरकारी अस्पतालमा शल्यक्रिया हुनेछ,’ सहप्रवक्ता अधिकारीले भने, ‘नियमित अप्रेसन भने रोकिन्छन् ।’

उनका अनुसार शल्यक्रियाको टिमलाई पालो मिलाएर विदा बस्न मन्त्रालयले निर्देशन दिएको छ । तर, सेवा प्रवाह नै कठिन हुने गरी बिदामा बस्न नपाउने निर्देशन पनि भइसकेको छ ।

अस्पतालहरूमा बिरामीको चाप घट्दै
यसपटक निरन्तरको वर्षा, बाढीपहिरो र लगत्तै दसैँ सुुरु भएसँगै उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या घटेको छ । आकस्मिक सेवाबाहेकका बिरामीको संख्या कम हुँदैै गएको अस्पतालहरूले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमा दैनिक औसत तीन हजार आठ सयदेखि चार हजार दुई सयसम्म बिरामी आउँथे । तर, दसैँ नजिकिएसँगै बिरामीको संख्या ह्वात्तै घटेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार एक सातायताको तथ्यांक हेर्दा दैनिक आठ सयदेखि हजारहाराहारी बिरामी आउने गरेका छन् । दसैँ नजिकिएसँग यो संख्या अझै घट्ने अनुमान गरिएको छ । वीर अस्पतालमा पनि बिरामीको संख्या घढ्दो क्रममा छ ।

बाढीपहिरो र चाडबाड नजिकिएपछि बिरामीको संख्या घटेको अस्पतालले जनाएको छ । दुई साताअघिसम्म दैनिक एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म बिरामी आउँथे । तर, पछिल्लो समय घटेको अस्पतालका टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार बिरामीको संख्या घट्नुको कारण चाडबाड पनि हो । 

 स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्– दसैँका वेला नियमित ओपिडी बन्द हुन्छन्, तर इमर्जेन्सी सेवाचाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ । अप्ठ्यारो तथा जाँच गर्नैपर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्नुहुनेछ । तर, नियमित ओपिडीचाहिँ बन्द हुन्छ, दसैँको वेलामा बिरामीको चाप पनि कम हुन्छ, उपचार गर्नैपर्ने बिरामीलाई इमर्जेन्सी सेवा छँदै छ ।

सुझावित समाचार