अवैध रूपमा डिजिटल तराजु बिक्री गरेपछि चिनियाँ लगानीको मल कम्पनी सिल

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले भरतपुरमा अनुमति नलिई डिजिटल तराजु बिक्रीका लागि राखेको भेटिएपछि भन्दै खुन्हा एक्सपोर्ट–इम्पोर्ट प्रालिको बिक्री केन्द्र र गोदाम सिल गरेको छ ।

अनुमतिपत्रविना राखिएका, भन्सार नतिरी ल्याइएका, लेभल नभएका सात सयभन्दा बढी डिजटल तराजुहरू रहेको गोदाम सिल गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक सुनीलकुमार यादवले डिजिटल तराजु भएको गोदामसँगै अन्य दुईवटा गोदाममा पनि सिल गरेको जानकारी दिए । सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ ।  

चाइनाको मिश्रित मल वितरणको मात्र अनुमति लिएर खोलिएको यस कम्पनीको गोदाममा डिजिटल तराजु भेटिएको थियो । कम्पनीमा चिनियाँको लगानी भएको यसका सञ्चालक बताउँछन् । कम्पनीको व्यवस्थापक रहेका भक्तबहादुर थापाले कागजपत्रमा आफूहरूको नाम भए पनि कर्मचारीजस्तै बनेर आफूले काम गरेको बताए । उनले डिजिटल तराजु कहाँबाट कसरी आएको भन्ने कुरासमेत आफूलाई जानकारी नभएको बताए ।

लकडाउनपछि गोदाम खाली थियो, चिनियाँले तराजु ल्याएर राखेपछि उनीहरूकै लगानीको कम्पनी भएकाले किन राखेको भनेर प्रश्न गर्न नमिलेको उनको भनाइ छ । यद्यपि, कम्पनी गोर्खाकी विनादेवी पन्तको नाममा दर्ता छ । नेपालको कानुनअनुसार अवैध रूपमा तराजु, काँटा ल्याएको प्रमाणित भएमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।

See More On

सुझावित समाचार