काठमाडौं महानगरपालिकाका नेकपा (एमाले)तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए युवाहरूलाई जीवनको कथा हाल्ने एक सयवटा स्थान निर्माण गरिदिने बताएका छन् ।
‘म पहिलोपटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थापितले भने, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरूका लागि काठमाडौंमा ठाउँ नै छैन। म युवाहरूलाई जीवनको कथा हाल्ने एक सयवटा स्थान निर्माण गरिदिन्छु ।’
नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना आफूसँग रहेको भन्दै उनले आफू निर्वाचित भए केशर महलवरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने बताए । ‘युवाहरू साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौं महानगर भन्दै खुसी हुन्छन्। यस्ता पार्क सहरभरि धेरै स्थानमा बनाउन सकिन्छ,’ उनले भने ।