पर्साका तीन जनप्रतिनिधिले गाडी बुझाए

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

पर्साका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्दै आएको सवारीसाधन बुझाउन थालेका छन्। जिल्लामा हालसम्म तीनजना जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी बुझाएका छन्। वैशाख ३० गते तोकिएको निर्वाचनमा गाडी दुरुपयोग हुन नदिने उद्देश्यले गाडी बुझाउन थालेको बताएका छन्। 

बुधबार वीरगन्ज महानगरपालिकाकोाप्रमुख विजयकुमार सराबगीले प्रयोग गर्दै आएको ना.१ झ १६६८  गाडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बुझाएका छन्। केही नलिने घोषणा गरेका मेयर सराबगी निर्वाचित भएको एक वर्षपछि एक करोड ४४ लाखको गाडी खरिद गरी प्रयाेग गर्दै आएका थिए। 

यस्तै, गत मंगलबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि सवारीसाधन बुझाएका छन्। उनले प्रयोग गर्दै आएको बा.२झ ४२४४ नम्बरको हायलक्स गाडी गाउँपालिकाका जिन्सी शाखाका उत्तम सिंहलाई बुझाए।  यसअघि सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई बुझाएका थिए। साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन्। 

सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए।  जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको पालिकाको गाडी बुझाउन बाँकी रहेको छ।

सुझावित समाचार