ठेक्का लिने इन्जिनियर नै चोरीमा संलग्न

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण
ठेक्का लिने इन्जिनियर नै चोरीमा संलग्न

वासुदेव पुडासैनी

निर्माणस्थलका विभिन्न हार्डवेयर सामग्री मध्यरातमा चोरी गरेर अर्कैलाई बिक्री

निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली उच्च निगरानीमा थियो । यही क्रममा सधैँ चिल्लो कारमा हुइँकिने एक इन्जिनियर शंकाको घेरामा परे । प्रहरी अनुसन्धानमा जुट्यो । अन्ततः उनै इन्जिनियर चोरी भएका ‘प्लाइउड’सहित पक्राउ परे । 

महाराजगन्ज वृत्तका अनुसार पक्राउ पर्ने निर्माण कम्पनी हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका मालिक आर्यन भनिने वासुदेव पुडासैनी हुन् । उनलाई प्रहरीले २७ चैतमा बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानपछि उनको गोदामबाट निर्माणस्थलबाट चोरी भएका ‘प्लाइ उड’ फेला परेका थिए । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपपछि उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ । 

वृत्त प्रमुख डिएसपी प्रमेश विष्टले पुडासैनीविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘महाराजगन्ज क्षेत्रका निर्माणस्थलबाट रोडा, बालुवा, रड, फर्मालगायत सामग्री चोरी भएको गुनसो बढ्न थाल्यो । प्रहरी उच्च निगरानीमा थियो । अनुसन्धानपछि चोरी भएको ‘प्लाइ उड’ पुडासैनीको गोदाममा फेला परेको छ । घटनामा थप बुझ्ने काम हुँदै छ,’ उनले भने ।

सिभिल इन्जिनियर पुडासैनी हिरोज इन्टेरियर डिजाइनका कार्यकारी अधिकृत पनि हुन् । प्रहरीका अनुसार उनी ठूला संरचना निर्माण र निर्माण भएका भवनको ‘इन्टेरियर डिजाइन’ गर्ने भन्दै ठेक्कमा लिन्थे । आकर्षक नक्सा बनाउँथे । निर्माणस्थलमा निर्माण सामग्री झार्न लागउँथे । दिउँसो गएर ‘स्टोर रुम’को रेकी गर्थे । भाडामा लिइएका ट्रक लिएर मध्यरात निर्माणस्थल पुग्थे । ‘स्टोर रुम’ खोल्न लगाउँथे । आवश्यकताअनुसार रड, बालुवा, रोडा, सिमेन्ट, फर्मालगायत सामग्री लोड गरेर गोदाममा लगी थन्काउँथे । केही समयपछि चोरीका तिनै सामग्री अन्य साटइमा लगेर बेचिदिन्थे । 

चोरीका सामान बेच्नेक्रममा उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले २७ चैतमा पक्राउ गरेको हो । महाराजगन्ज वृत्तका अनुसार उनीविरुद्ध सातभन्दा धेरै निर्माणस्थलका निर्माण सामग्री चोरी गरेको आरोप छ । ‘बुढानीलकण्ठ क्षेत्रका सातभन्दा धेरै निर्माणस्थलबाट निर्माण सामग्री चोरी भएको जाहेरी परेको छ । घटनाको अनुसन्धान चलिरहेको छ । ती घटनामा पनि पुडासैनी संलग्न हुन सक्ने आशंका छ,’ विष्टले भने ।

See More On

सुझावित समाचार