गत १ असारमा मेलम्ची नदीमा आएको बाढीका कारण जनधनको मात्र क्षति भएन, राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनामा पनि क्षति पुग्यो । बाढीले आयोजनामा एक अर्बभन्दा बढीको क्षति पुर्यायो । तर, मुख्य संरचना भने क्षति हुनबाट जोगिए । क्षति पुगेका भौतिक संरचना मर्मतसम्भार गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण गरिएको छ । १० महिनासम्म काठमाडौंवासी मेलम्चीको पानी उपभोग गर्नबाट वञ्चित भए पनि अब भने मेलम्चीको पानी आउने निश्चित भएको छ । मंंगलबार खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बुको अम्बाथानमा रहेको १ नम्बर डाइभर्सनको गेटबाट मेलम्चीको पानी काठमाडौंमा छाडेका छन् । मेलम्ची आयोजनाले आफ्नो कार्यकालमै ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी प्रतिबद्धताअनुसार नै पथान्तरण गर्न सफल भएको उल्लेख गरे ।
‘हामीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको ठानेका छौँ । सरकारले घोषणा गरेकै दिन मेलम्चीको पानी पुनः पथान्तरण गरेका छौँ,’ उनले भने, ‘केही नेताहरूले वैशाखमा कुनै पनि हालतमा मेलम्चीको पानी काठमाडौंवासीले खान पाउँदैन भन्ने गरेका थिए । आज मेलम्चीको पानी पथान्तरण गर्न सफल भएसँगै त्यस्तो बोल्ने नेताहरूले जवाफ पाए होलान् ।’ मन्त्री चौधरीले विगतको सरकारले पानी पथान्तरण गर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामसमेत नलिएको भन्दै दुःख व्यक्त गरे । ‘हाम्रा सन्तनेता तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजीको सपना, उहाँको त्याग, तपस्या र योगदानको स्मरण गर्दै उहाँको मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउँछु भनेर सुरुवात गर्नुभएको थियो । विगतको सरकारले योजना सञ्चालन गर्दा कदर गर्नु त कता हो कता भट्टराईजीको नामसमेत पनि नलिनु दुःखद हो,’ उनले भने ।
सरकारले चैत महिनाभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । मन्त्री चौधरीले हतारमा नभई सही समयमा पानी ल्याउन सफल भएको बताए । ‘हामीले मेलम्चीको पानी पथान्तरण हतारमा गरेको होइन, पाइलाइन विस्तार गरेका छौँ । त्यो प्रयोगमा ल्याउन पनि परीक्षण गर्न आवश्यक छ,’ उनले भने, ‘जनसंख्या बढेसँगै पानीको अभाव बढ्दै गएका कारण पानीको अभाव भएकाले त्यसलाई पूर्ति गर्न सक्छौँ कि सक्दैनौँ भनेर पुनः पथान्तरणको सुरुवात गरेका हौँ ।’ मन्त्री चौधरीले मंगलबार मेलम्ची खानेपानीको उद्घाटन गरेसँगै हालसम्म तीनपटक उद्घाटन भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले २२ फागुन ०७७ मा सुन्दरीजलमा रहेको बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गरेर उद्घाटन गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २० चैत ०७७ मा भृकुटीमण्डपमा रहेको ढुंगेधाराबाट पानीको धारा खोलेर मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी थिइन् ।
सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छाडियो
अम्बाथान अडिटबाट पानी पथान्तरण गरिएसँगै मेलम्चीको पानी काठमाडौंवासीको धारामा आउन दुई साता लाग्नेछ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको छ । ‘हामीले आज सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडेका हौँ । पानीको भोलुम बढाएर २९० सम्म बढाउन सक्यौँ भने १० देखि १२ दिनमा टनेल भरिन सक्छ । जसकारण काठमाडौंवासीको धारामा दुई साताभित्र पानी झार्न सक्छौँ,’ उनले भने ।
सरकारले घोषणा गरेकै दिन मेलम्चीको पानी पुनः पथान्तरण गरेको छ । हामीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको ठानेका छौँ । केही नेताहरूले वैशाखमा कुनै पनि हालतमा मेलम्चीको पानी काठमाडौंवासीले खान पाउँदैनन् भन्ने गरेका थिए । आज मेलम्चीको पानी पथान्तरण गर्न सफल भएसँगै नेताहरूले जवाफ पाए होलान् ।
उमाकान्त चौधरी, मन्त्री, खानेपानी
अस्थायी प्रक्रियाबाट मेलम्चीको पानी पथान्तरण गरेर काठमाडौंवासीलाई खुवाउने कार्ययोजना पूरा भएको भन्दै उनले एसियाली विकास बैंकको रिपोर्टअनुसार स्थायी प्रक्रियाबाट पानी ल्याउन पहल गरिने बताए । ‘निर्माण व्यवसायीलाई फिल्डमा परिचालन गरेको ७५ दिनमै पानी पथान्तरण गर्न सफल भएका छौँ । अस्थायी पथान्तरणसँगै हाम्रो जिम्मेवारी थप बढेको छ । यसको स्थायी समाधान खोज्नुपर्नेछ । पुरिएका संरचनाको क्षति आकलन गर्नु छ । प्राकृतिक विपद्बाट बचाउँदै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउनु छ,’ सचिव आचार्यले भने, ‘एडिबीले हाल मेलम्चीको अध्ययन गरिरहेको छ । अप्रिलको अन्तिममा उसले रिपोर्ट दिन्छ । सोहीअनुसार हामी स्थायी समाधानका लागि अगाडि बढ्नेछौँ ।’
मन्त्री चौधरीले अब मेलम्चीको पानीको विकल्प खोज्ने प्रक्रिया सुरु भएको बताए । ‘मेलम्चीको विकल्पस्वरूप मकवानपुरको सिस्नेरी र ठोस्ने खोलाको पानी काठमाडौं ल्याउन अध्ययन भइरहेको छ । रिपोर्टअनुसार हामी काम गर्नेछौँ,’ उनले भने ।
हेलम्बु गाउँपालिकाले माग्यो मेलम्ची पानी बिक्रीको २५ प्रतिशत रोयल्टी
हेलम्बु गाउँपालिकाले मेलम्ची पानी बिक्रीको २५ प्रतिशत रोयल्टी माग गरेको छ । मंगलबार खानेपानीमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाले मेलम्ची खानेपानीको मुनाफा बाँडफाँट हुनुपर्ने माग गरेको हो । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मन्त्री चौधरीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टी र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउन माग गरेका हुन् । त्यसैगरी, ३०९ घर पूर्णरूपमा मेलम्चीले बगाएकाले प्रतिपरिवार १५ देखि २० लाख रकम उपलब्ध गराउन र बाढीबाट मृत्यु भएका आश्रित परिवारलाई क्षतिपूर्तिस्वरूप प्रतिपरिवार १० लाख उपलब्ध गराइदिन माग गरेका छन् ।
६० किलोमिटर हेलम्बु ग्रेट ट्रेल निर्माणका लागि चार अर्ब गाउँपालिकाको स्रोतले नभ्याउने भएका कारण चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर बहुवर्षीय आयोजनाका रूपमा बजेट व्यवस्था गरिदिन, मेलम्ची खानेपानीको यस भेगमा प्राविधिक शिक्षालय स्थापना गर्ने विषयमा हालसम्म उक्त योजनाको कुनै पनि प्रक्रियासमेत अगाडि नबढेकाले यस भेगका विभिन्न सीपमूलक तालिमबाट रोजगार सिर्जना गराउने उद्देश्य गाउँपालिकामा केन्द्र सरकारले एक प्राविधिक विद्यालयको स्थापनाका लागि आगामी बजेटमा व्यवस्था गरिनुपर्नेलगायत माग गाउँपालिकाले राखेको छ ।
अध्यक्ष शेर्पाले हेलम्बुवासीले काठमाडौंलाई पानी दिएबापत केही न केही पाउनुपर्ने भन्दै प्रतिबद्धता नभुल्न आग्रहसमेत गरे । ‘यो आयोजनालाई सफल बनाउन हामी सकारात्मक छौँ । तर, काठमाडौंमा पानी गएबापत हामीले केही न केही पाउनुपर्छ,’ शेर्पाले भने, ‘यहाँ आएका वेला हामीलाई विभिन्न खालका आवश्वासन दिने अनि काठमाडौं फर्केपछि वाचा भुलिदिने प्रवृत्ति त्याग्न आग्रह गर्छु ।’ काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।
