विकासको आफ्नै मौलिक मोडेल बनाउन आवश्यक छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहनेहरू रहेको दाबी गरेका छन्। मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले नेपालका लागि आमजनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा गति लिने र कसरी फड्को मार्ने भन्ने महत्वका साथ उठाउनुपर्ने बताए। २१औँ शताब्दीको ग्लोबलाइज्ड र डिजिटलाइज्ड विश्वले नेपालको विकास मोडेलमा पारेको प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमले देश विकास गर्न आवश्यक रहेको उनले बताए। 

‘अहिलेको २१औँ शताब्दीको विश्व ग्लोबलाइज्ड पनि छ, डिजिटलाइज्ड पनि छ। यसको प्रभावले हाम्रो विकास मोडेलमा के प्रभाव पार्छ ? नकारात्मक प्रभावहरू के छन् ? सकारात्मक र रचनात्मक के छन् ? भन्ने कुरामा गहिरो अध्ययन गरेर हामीले आफ्नै विकासको मौलिक मोडेलको विकास गर्न जरुरी छ। हामीले हाम्रो संस्कृति र मौलिकतालाई मध्यनजर गरेर मात्रै हाम्रो विकास गर्न आवश्यक छ,’ उनले भने।

अध्यक्ष दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्नेमा जोड दिए।

सुझावित समाचार