स्थानीय तह निर्वाचन : ललितपुर महानगरको मेयरमा क–कसको चर्चा ?

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै ललितपुर महानगरपालिकाको मेयरका आकांक्षीहरूबारे चर्चा सुरु भएको छ। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहित एक दर्जन व्यक्ति उम्मेदवारका आकांक्षी देखिएका छन्। उनीहरू चुनावी तयारीमा समेत लागिसकेका छन्।

कांग्रेसका आधा दर्जन आकांक्षी
कांग्रेसबाट महानगरको मेयरमा करिब आधा दर्जन आकांक्षी देखिएका छन्। हाल महानगरका मेयर रहेका चिरिबाबु महर्जनले पुनः उम्मेदवारी दिने तयारी गरेका छन्। उनले चुनावी प्रचारप्रसार र स्थानीयको घरघरमा पुग्नसमेत सुरु गरिसकेका छन्। अझै एक कार्यकाल महानगरमा नेतृत्व गर्ने योजना रहेको मेयर महर्जनले बताए। ‘पछिल्लो चार वर्षमा मैले राम्रै काम गरेँ, त्यसको मूल्यांकन यहाँका स्थानीयले गर्ने हो,’ उनले भने, ‘मैले सुरु गरेका योजनाका काम अझै बाँकी छन्। ती सम्पन्न गर्नका लागि पनि मैले योपटक पनि उम्मेदवारी दिन्छु।’

यसैगरी महानगरकी उपमेयर गीता सत्याल आगामी निर्वाचनमा मेयरको दाबीसहित तयारीमा लोगकी छिन्। करिब पाँच वर्ष नगरपालिकामा बसेर काम गरेको अनुभवले पनि आगामी कार्यकालमा महानगरको नेतृत्व गर्न सहज हुने उनको भनाइ छ। ‘मैले पछिल्लो पाँच वर्षमा ललितपुरमा उपमेयरको जिम्मेवारी निभाएँ। त्यति मात्रै होइन, यहाँका समस्याहरू पनि पहिचान गरेकी छु,’ उनले भनिन्, ‘त्यसको आधारमा अब मेयर भएर ललितपुरलाई हराभरा र थप व्यवस्थित सहर बनाउने सोच राखेकी छु।’ महानगर क्षेत्रको सवारी पार्किङलाई व्यवस्थित गर्ने, भूकम्पमा चर्किएका पाटन क्षेत्रका जोखिमपूर्ण अवस्थाका घर व्यवस्थित पार्ने, आधुनिक पूर्वाधार निर्माण गर्नेलगायत उनका एजेन्डा छन्।

त्यस्तै पाटन घर भएका शुभानन ध्वाख्वालाई पनि कांग्रेसबाट मेयरको आकांक्षीका रूपमा हेरिएको छ। आगामी चुनावमा आफू उम्मेदवारको दाबेदार रहेको बताउँदै उनी प्रचारप्रसारमा लागिसकेका छन्। आफू युवा भएकाले युवाहरूका समस्या सुन्ने बताउँदै उनले महानगरभित्रका युवाहरूलाई रोजगारी सिर्जना गर्ने किसिमका उद्यमशील क्षेत्रको विकास गर्ने योजना आफूले अघि सार्ने बताए। ‘ललितपुर महानगरमा अब युवाले नेतृत्व गर्नुपर्छ, पुरानो शैलीले काम गरेर हुँदैन। परिवर्तनका लागि नयाँ अनुहार नै चाहिन्छ,’ उनले भने।

कांग्रेसबाट भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनले पनि उम्मेदवारी दिने बताएका छन्। उनीहरू पनि स्थानीयको घरघरमा पुगेर चुनावी प्रचारप्रसारमा केन्द्रित भइसकेका छन्।

एमालेका चार आकांक्षी
नेकपा एमालेको तर्फबाट भने ललितपुरमा चारजनाको चर्चा छ। हरिकृष्ण व्यञ्जनकार, आस्था शाक्य मञ्जली, ज्ञानेन्द्र शाक्य र बाबुकाजी प्रधान उम्मेदवारका आकांक्षी देखिएका छन्। हाल बागमती प्रदेश सदस्य रहेका एमालेका शाक्य पनि मेयरको दौडमा छन्।

एमालेबाट मेयरका आकांक्षी व्यञ्जनकारले आगामी चुनावमा आफू उम्मेदवार बन्ने निश्चित भइसकेको बताएका छन्। ललितपुरको पाटन च्यासल घर भएका उनी २०७४ को निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। त्यतिवेला ३२५ भोटले उनी चिरिबावु महर्जनसँग पराजित भएका थिए। आगामी चुनावमा पनि एमालेको तर्फबाट आफू उम्मेदवार बन्ने ब्यञ्जनकारको दाबी छ। ‘मैले ललितपुर सुहाउँदो विकासको भिजन बनाएको छु, नगरपालिकाले नगरवासीका समस्या समाधान गर्नुपर्छ, आफ्नो स्वार्थमा लाग्नुहुँदैन,’ उनले भने, ‘मलाई एकपटक महानगरको नेतृत्व गर्ने इच्छा छ।

एमालेकी आस्था शाक्य मञ्जली पनि मेयरमा उठ्ने दाबेदारीसहित चुनावी प्रचारप्रसारमा लागेकी छिन्। राप्रपाबाट नेकपा एमालेमा प्रवेश गरेका बाबुकाजी प्रधानसमेत ललितपुरको आगामी मेयर बन्ने दौडमा छन्।

माओवादी केन्द्रबाट महर्जन र डंगोलको चर्चा
महानगरको मेयरमा माओवादी केन्द्रबाट दुईजनाको नाम चर्चामा छ। दिनेश महर्जन र सरोज डंगोलले आफू मेयरको दाबेदार रहेको बताएका छन्। हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य र बागमती प्रदेशको समानुपातिक सांसद रहेका उनी चुनावी प्रचारप्रसारमा लागेका छन्। उनी स्थानीयको घरदैलो र पार्टीभित्रको छलफलमा समेत केन्द्रित भएका छन्।

माओवादी केन्द्रका प्रदेश सदस्य सरोज डंगोल पनि पार्टीले टिकट दिने आशामा महानगरको मेयरमा उठ्ने तयारीमा लागिपरेका छन्। यद्यपि, उनले पार्टीभित्र छलफल भएपछि मात्रै आफू उम्मेदवार बन्ने टुंगो लाग्ने बताए। ‘हामीले छलफल गर्दै छौँ,’ उनले भने, ‘माथिल्लो तहबाट जे सल्लाह हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने हुन्छ। अहिले म चुनावी तयारीमै छु।’

सुझावित समाचार