नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाइएको बताएका छन्। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बढ्दो सोधनान्तर घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताए।
मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाइएको भन्दै उनले संकटबाट जोगाउनका लागि एउटा टुल्स प्रयोग गरिएको बताए। बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको पनि उनले प्रस्ट पारेका छन्।
‘अर्थतन्त्रको अहिलेको अवस्थालाई दुईवटा पक्षबाट हेर्नुपर्छ। कुनै पनि कुरालाई एकांकी रूपमा हेर्नुहुँदैन। एउटा पक्ष समष्टिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ। मुख्य रूपमा विदेशी विनिमय सञ्चितमा कमी आएको सोधनान्तर स्थिति घाटा, आयात उच्च दरमा बढेको कारणले गर्दा हाम्रो बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको छ। बाह्य क्षेत्र व्यवस्थापन हामीले गर्नै नसक्ने होइन,' उनले भने, 'केही वस्तुको आयातलाई हामीले रोक्न सक्छौँ। सुनचाँदी, सवारीसाधन आयातलाई रोक्न सक्छौँ। साच्चिकै त्यसमा ठूलो दबाब आउन थाल्यो भने त्यसका लागि राष्ट्र बैंकले प्रिकसन नोटहरू जारी गरेको हो। विशेष गरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब आउन सक्छ र समयमा नै सम्हालिनुपर्छ भनेर राष्ट्र बैंकले भनेको हो। यसमा आत्तिइहाल्नुपर्ने अर्थतन्त्रमा संकट आयो भन्ने होइन।'
प्रवक्ता भट्टले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको भन्दै नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने पनि प्रस्ट पारेका छन्। श्रीलंकामा कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको उनले बताए। कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुक श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने उनको दाबी छ।