काठमाडौं/ बाढी प्रभावित क्षेत्रका बासिन्दाले सामसङका मोबाइल तथा घरायसी उपकरण मर्मत तथा नयाँ खरिदमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । सामसङ नेपालले प्रभावित समुदायलाई सहयोग गर्न विशेष मर्मत सेवा अभियान घोषणा गरेको छ ।
कम्पनीका अनुसार २ अक्टोबरदेखि २ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा बाढीपीडित परिवारलाई क्षतिग्रस्त उपकरण पुनः प्रयोगमा ल्याउन तथा नयाँ सामान किन्न लाग्ने आर्थिक भार कम गर्न सहयोग गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानअन्तर्गत नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा उपलब्ध छ । फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत घरायसी उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको बताइएको छ ।
यो अभियान नेपाल सरकारले विपत् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत वारेन्टी अवधि बाँकी रहेका योग्य मोबाइल तथा घरायसी उपकरणको मर्मत र नयाँ सामान फेर्नुपर्दा लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशत, दुईदेखि चार वर्ष पुराना उपकरणमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ । त्यसैगरी, एकदेखि दुई वर्ष पुराना मोबाइलमा ८० र दुईदेखि चार वर्ष पुराना मोबाइलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था छ ।
कम्पनीका अनुसार नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्थामा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विकल्पमा विचार गर्न सकिनेछ । बाढी प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक उपकरणको प्रयोग पुनः सुरु गर्न सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।