प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुने गरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो।
पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी निर्वाचन आचारसंहिताको पालना गराउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो।
त्यसैगरी निर्वाचन कानुनमा प्रधानमन्त्री र मन्त्रीहरूले प्रचारप्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरूले आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिए। उनले निर्वाचन आचारसंहिताको कार्यान्वयन गराउने सन्दर्भमा जनताको बीचमा खुलस्त ढंगले जान पाउने गरी त्यसको कार्यान्वयनमा ध्यान दिन पनि निर्वाचन आयोगलाई अनुरोध गरिएको बताए।
‘अहिले जस्तो प्रकारको आचारसंहिता छ। जस्तो मन्त्रीहरू चुनावको प्रचारप्रसारमा जान नपाउने खालको छ। अभ्यासमा लान सकिन्छ भने त राम्रो हो। तर, हामी के ठान्छौँ भने प्रधानमन्त्रीले प्रचारप्रसारमा जान नमिल्ने भन्ने खालको कुरा पछिसम्मका लागि उपयुक्त होइन,’ उनले भने, ‘अहिलेको कानुनले रोकेको छ। अब त्यो कानुनको पालना गर्ने कर्तव्य सरकारको हो। निर्वाचन आयोगको पनि हो। तर, यो लोकतन्त्रका लागि उपयुक्त हो/होइन भन्दा पनि भविष्यमा यस्ता कुरा सच्याउनुपर्छ भनेका छौँ ।’
निर्वाचनमा खर्च नबढाउन पनि सामाजिक सञ्जालको प्रयोग उपयुक्त हुने उनले बताए। सबै राजनीतिक दलले आफ्नो विचारलाई खुलस्त रूपमा राख्ने वातावरण आचारसंहिताले प्रदान गर्नुपर्ने उनले बताए। एमालेले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको उल्लेख गर्दै त्यसको प्रयोग सहज गराउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
महासचिव कमरेड शंकर पोखरेलको नेतृत्वमा आज आसन्न स्थानीय निर्वाचन आचारसंहिताका बारेमा पार्टीको प्रतिनिधिमण्डलले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । pic.twitter.com/x6NiE4YeDL
— CPN (UML) नेकपा (एमाले) (@umlcpn) April 7, 2022