प्रधानमन्त्री देउवा दिल्लीमा, रक्षा राज्यमन्त्रीद्वारा स्वागत, यस्तो छ कार्यक्रम

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

भारतको तीनदिने औपचारिक कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली आइपुगेका छन् । चारजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री देउवा दिल्ली आइपुगेका हुन् । प्रधानमन्त्रीलाई भारत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेका छन् । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि स्वागतका लागि पुगेका थिए । 

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि देउवा दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ । भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत शीर्ष नेताहरूसँग छलफलपछि प्रधानमन्त्री देउवा साँझ बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावास जाने कार्यक्रम छ । त्यहाँ उनको सम्मानमा आयोजित रात्रिभोज हुनेछ । नेपालका मित्रका रूपमा परिचित नेता, बुद्धिजीवीलाई रात्रिभोजमा बोलाइएको छ । 

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता भोलि ११ः१० बजे हैदराबाद हाउसमा हुनेछ । सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन् । 

द्विपक्षीय औपचारिक वार्तापछि सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल्वे शुभारम्भ गर्नेछन् भने भारतको सहयोगमा नेपालमा भूकम्पपछि निर्माण भएका स्वास्थ्य चौकीहरूकाे उद्घाटन गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार विदेश भ्रमणमा निस्कने भएका कारण कार्यवाहक राष्ट्रपतिका रूपमा उपराष्ट्रपति नायडुसँग प्रधानमन्त्री देउवाको शिष्टाचार भेट तय भएको छ ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस (वाराणसी) पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् भने नेपाली धर्मशालाको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा बनारसबाट अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।

सुझावित समाचार